• आइतबार, १ कात्तिक २०८३
  • images

    एक वर्षदेखि स्टार अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् तलब  

    एक वर्षदेखि स्टार अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् तलब  

    शान्तिपूर्ण आन्दोलन जारी 

    शुक्रबार, भदौ २७ २०८२
    शुक्रबार, भदौ २७ २०८२
    एक वर्षदेखि स्टार अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् तलब  

    काठमाडौं, २७ भदौ । एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सानेपास्थित स्टार अस्पतालका  चिकित्सक तथा कर्मचारीहरूले शान्तिपूर्ण आन्दोलन गरेका छन्।

     उनीहरूले विभिन्न तहका छलफल र श्रम कार्यालयमार्फत भएका लिखित सहमतिहरू समेत व्यवस्थापनले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गरेका हुन् ।

    images

    कर्मचारीहरूले एक वर्षदेखि तलब नपाएपनि आन्दोलन भने  २०८२ साउन २६ गतेदेखि सुरु गरेका हुन् ।


     ऊनीहरुले न्यायप्रेमी जनसमुदाय, राजनीतिक दल तथा मानव अधिकारवादी संस्थासँग समस्या समाधानका लागि पहल गर्न अपिल गरेका छन्।

    कर्मचारीका अनुसार चिकित्सकलाई एक वर्ष, अन्य कर्मचारीलाई छ महिनादेखि पारिश्रमिक दिइएको छैन। 

    यस्तै कर्मचारी सञ्चय कोषमा १५ महिनादेखि, नागरिक लगानी कोषमा ६ महिनादेखि रकम जम्मा गरिएको छैन। त्यस्तै, टिडिएस कर दुई वर्षदेखि नबुझाइएको, मोर्डन टेक्निकल कलेजका कर्मचारीलाई एक वर्ष र स्टार नुवाकोट अस्पतालका कर्मचारीलाई आठ महिनादेखि पारिश्रमिक दिइएको छैन ।

    यसअघि श्रम कार्यालय, टेकुमा विभिन्न मितिहरूमा निवेदन पेश गरेपछि कार्यालयको तर्फबाट चरणवद्ध छलफल गराइएका थिए।

      २०८१/९/३ गते र २०८२/२/१३ गते गरी दुई पटक लिखित सहमति भएको थियो। तर व्यवस्थापनले ती सम्झौता पालना नगरेपछि श्रम कार्यालयले २०८१/१२/२८ गते निर्णय गर्दै स्टार अस्पताल लिमिटेडको बैंक खाता रोक्का, अचल सम्पत्तिको कारोवार रोक्का, शेयर खरिदबिक्री रोक्का, नामसारी, अध्यावधिक लगायतका कारोवारसमेत रोक्का गरेको थियो।

    यसपछि व्यवस्थापकले खराब नियत राखी रोक्का भएको खाता मात्र खुलाउने उद्देश्यले किस्ताबन्दीमा भुक्तानी दिने भनी २०८२/२/१३ गते पुनः त्रिपक्षीय सहमति गरे पनि सो सहमति समेत कार्यान्वयन नगरेको कर्मचारीहरूको आरोप छ। 

    उनीहरूको भनाइअनुसार, संस्थालाई बचाउने जिम्मेवारीपूर्वक कर्मचारी पक्षले खाता खुलाउन पहल गरेका थिए तर खाता खुलेपछि व्यवस्थापकले सहमति अनुसार पारिश्रमिक नदिएपछि व्यवस्थापनको नियत नै खराब भएको बताएका छन्। 

    ‘हामीलाई आन्दोलन गर्न रहर थिएन, तर व्यवस्थापनको गैरजिम्मेवार व्यवहारले बाध्य बनायो,’ आन्दोलनरत कर्मचारीहरूले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।

     कर्मचारीका अनुसार, विभिन्न मितिमा पटक–पटक छलफल हुँदा पनि व्यवस्थापनले गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुँदै समस्या समाधानमा चासो देखाएको छैन। उनीहरूले काम गरेको पारिश्रमिक लिन व्यवस्थापकको शर्त अनुसार वार्ता गर्नुपर्ने जस्तो गैरजिम्मेवार प्रवृत्तिबाट आफूहरू दुःखी भएको बताएका छन्।

    कर्मचारीहरूले व्यवस्थापनले तत्काल पारिश्रमिक र अन्य सुविधा भुक्तानी नगरेसम्म शान्तिपूर्ण संघर्ष जारी रहने चेतावनी दिएका छन्। 

    संघर्ष समितिले आन्दोलनका कार्यक्रम क्रमशः सार्वजनिक गर्ने जनाएको छ। समस्या समाधान हुने गरी व्यवस्थापक प्रस्तुत भएमा वार्तामा सहभागी हुन आफूहरू सधैं तयार रहेको र वार्ता–छलफलमार्फत समाधान खोज्ने पक्षमै रहेको कर्मचारीहरूले स्पष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार