काठमाडौं,१७ । कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी भएका पीडितहरूले अंगदान गरी धेरैको जीवन बचाएका छन् ।
कुवेतको अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा मुस्तफा अल–मुसावीले कुवेतको सरकारी टेलिभिजन केटीभीसँगको अन्तर्वार्तामा सघन उपचार कक्षमा भर्ना भएका करिब २० जनामध्ये १२ जनालाई ब्रेन डेथ घोषणा गरिएको थियो । तीमध्ये १० जनाको परिवारले अंगदानका लागि सहमति दिएका थिए ।
उक्त घटनामा १६० जना बिरामी भएका थिए भने २३ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमध्ये १३ जना नेपाली रहेका छन् ।
कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेती सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार ५१ जनालाई तत्काल मिर्गौला डायलाइसिसको आवश्यकता परेको थियो ।
विषाक्त मदिरा सेवन गर्ने ३१ जनालाई भेन्टिलेटरमा राखिएको थियो । यस घटनाका दोषीहरूलाई कारबाही गर्ने क्रममा अवैध मदिरा उत्पादन र वितरणमा संलग्न ६७ जना पक्राउ परेका छन् ।
यी १० जनाबाट चिकित्सकहरूले २० वटा मिर्गौला, तीनवटा मुटु, चारवटा कलेजो र दुईवटा फोक्सो संकलन गरिएको छ । फोक्सोबाहेक अन्य सबै अंगको सफल प्रत्यारोपण भएको थियो ।
पछिल्ला पाँच दिनमा तीनवटा मुटु प्रत्यारोपण सफलतापूर्वक गरिएको थियो । कलेजो प्रत्यारोपण कार्यक्रम अस्थायी रूपमा रोकिएकोले कुवेती बिरामीहरूका लागि कलेजो अबुधाबी पठाइयो थियो भने मुटु र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।