काठमाडौँ, २ मंसिर । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।
८३ वर्षीय ढुंगानाको उपचारको क्रममा फ्रन्ट लाइन अस्पतालमा निधन भएको हो ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख रहेका थिए ।
यसैबीच प्रधानमन्त्री के.पी शर्मा ओलीले ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत लेखेका छन् ‘‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु।
नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’’