• बुधबार, ४ कात्तिक २०८३
  • images
    पत्रपत्रिकाबाट

    धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको नमुना मुसहर बस्ती क्षयरोगले आक्रान्त 

    धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको नमुना मुसहर बस्ती क्षयरोगले आक्रान्त 

    हेल्दीखबर
    आइतबार, भदौ २४ २०८०
    हेल्दीखबर
    आइतबार, भदौ २४ २०८०
    धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको नमुना मुसहर बस्ती क्षयरोगले आक्रान्त 

    बर्दिबास, २४ भदौ । एक दशकअघि धुर्मुस सुन्तली फाउन्डेसनले भवन निर्माण गरेपछि देशव्यापी चर्चा पाएको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती केही समययता क्षयरोगले आक्रान्त बनेको छ । बस्तीमा मुसहर समुदायका ५२ परिवारको बसोबास छ । तीमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ । क्षयरोगबाट ५२ वर्षीय फूलकुमारी सदा र ४२ वर्षीय वासुदेव सदाको मृत्यु भइसकेको बर्दिबास नगरपालिकाका, नगर स्वास्थ्य शाखाले जनाएको छ । 

    औषधी नखाइदिने प्रवृत्तिले सबै उमेर समूहमा टिबी फैलिएको हो । औषधी खाँदा कमजोरी हुने, बेहोस हुने भ्रम रहेकाले रोग पालेरै बस्छन् ।
    वडा नं. १४ की सामुदायिक नर्स प्रजिता कडारीका अनुसार टिबी (क्षयरोग) बाट नमुना मुसहर बस्तीका बालबालिकासमेत सङ्क्रमित छन् । लक्षणका आधारमा मुसहर बस्तीका २० जना बालबालिकाको खकार सङ्कलन गरी केही दिनअघि प्रादेशिक अस्पताल, जनकपुरमा परीक्षण गराइएको थियो । 

    images

    परीक्षणको रिपोर्ट अनुसार १० महिनादेखि दुई वर्ष उमेर समूहका चार जना बालबालिकामा छातीको टिबी पुष्टि भएकाले मुसहर बस्तीको स्वास्थ्य अवस्था गम्भीर देखिएको नगर स्वास्थ्य प्रमुख सुरेश पासवानले बताउनुभयो । बस्तीमा स्वास्थ्य जाँच नगराएका तर टिबीको लक्षण देखिएका धेरै जना हुन सक्छन् ।

    गाउँका महिलाका अनुसार नमुना मुसहर बस्तीका अधिकांश पुरुष कुलतमा फसेका छन् । गाँजा र मदिरा सेवन गर्छन् । एक त स्वास्थ्य जाँच नै गराउँदैनन् । गराइहालेकाले पनि नियमित औषधी सेवन नगर्ने प्रवृत्तिले स्वास्थ्य समस्या बढेको आशा सदाले बताउनुभयो । 

    मुसहर बस्तीका २० जना बालबालिकाको खकार सङ्कलन गरी परीक्षण गराइएकोमा १० महिनादेखि दुई वर्ष उमेर समूहका चार जना बालबालिकामा छातीको टिबी पुष्टि भएको छ ।
    “नमुना बस्ती भन्नु मात्रै, यहाँका मर्दहरू दिनभर गाँजा तानिरहन्छन् । झन् रक्सी त भन्नै पर्दैन, पानी पिए बराबर छ,” आशा सदाले समुदायको आनीबानी सुनाउनुभयो, “पुलिस पनि के गर्छ कुन्नि ? यस्तालाई समाएर लान पनि सक्दैन ।”

    बस्तीका मुखिया बिल्टु सदाका अनुसार औषधी नखाइदिने प्रवृत्तिले सबै उमेर समूहमा टिबी फैलिएको हो । “औषधी खाँदा कमजोरी हुने, बेहोस हुने भ्रम रहेकाले रोग पालेर बस्छन्, भनेको मान्दैनन् । न समयमा जँचाउँछन् न दबाइ खाइदिन्छन्,” उहाँले समस्या बताउनुभयो ।

    अधिकांशमा टिबीका लक्षण देखिएपछि बर्दिबास नगरपालिकाले मुसहर बस्तीमा शनिबार खकार सङ्कलन शिविर आयोजना गर्नुका साथै सचेतीकरण अभियान सुरु गरेको छ । मुसहर बस्ती पुग्नुभएका नगरप्रमुख प्रह्लाद क्षेत्रीले कुलत त्याग्न र स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य परीक्षण निःशुल्क रहेको र क्षयरोग लागेका मुसहर समुदायलाई पौष्टिक आहारका लागि एक हजार पाँच सय रुपियाँ उपलब्ध गराएको जानकारी दिनुभयो । वडा नं. १४ का वडाध्यक्ष विजय महतोले बस्तीको सफाइप्रति ध्यान दिन आग्रह गर्दै यसमा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिनुभयो । 

    नगर स्वास्थ्य प्रमुख सुरेश पासवानका अनुसार शिविरमा बस्तीका सबैलाई खकार सङ्कलनका लागि डब्बा वितरण गरिएको छ । बिहानीको खकारसहितका डब्बा सङ्कलन गरी परीक्षण गरिने र प्राप्त रिपोर्ट अनुसार नमुना मुसहर बस्तीमा थप सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
    (आजको गोरखापत्रमा रवीन्द्र उप्रेतीले लेख्नुभएको समाचारं)

    प्रतिक्रिया दिनुहोस
    थप समाचार