काठमाडौं, १४ साउन । चिकित्सा शिक्षा आयोग र सीटीइभीटीबीच भएको द्धन्दका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई जानकारी गराइएको छ ।
चिकित्सा शिक्षा आयोगका पदाधिकारीको टोलीले मन्त्री बस्नेतसंग भेट गरी प्रविधिक शिक्षा तथा व्यवसायिक परिषद् (सीटीईभीटी)ले कानुन विपरित काम अगाडि बढाइरहेको विषयमा जानकारी गराएको हो ।
अयोगका पदाधिकारीले सीटीईभीटीले पछिल्लो समय नर्सिङ लगायत स्वास्थ्यका विषय अध्यापन गराउने कलेजहरुका विषयमा आयोगको कानुन विपरित काम अगाडि बढाइरहेको विषयमा जानकारी गराएका हुन्।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको नेतृत्वमा गएको टोलीले सीटीईभीटीको पछिल्लो समयको गतिविधिसहित चिकित्सा शिक्षाका विषयमा जानकारी दिएका थिए।
सो क्रममा स्वास्थ्यमन्त्री बस्नेतले आफूले उक्त विषयमा बुझेर आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गर्ने बताउनुभएको थियो ।
पछिल्लो समय सीटीईभीटीले प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको कानुन नमान्ने संकेत गरेको छ ।
चिकित्सा शिक्षालाई गुणस्तरीय र एकीकृत रुपमा चुस्त दुरुस्त बनाउने, नियमन, नियन्त्रण एवम् अनुगमन गर्ने संस्थाको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षा आयोग गठन भएको हो।
आयोगले कानुन अनुसार अगाडि बढ्न सीटीईभीटीलाई पत्र काटेको थियो। तर सीटीईभीटीले आयोगलाई चुनौती दिँदै प्रधानमन्त्री अध्यक्ष रहेको आयोगको नियम नमान्ने भन्दै अगाडि बढेको छ ।