काठमाडौँ , ८ साउन । उपप्रधान एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरिएको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय नियम संगत भएको बताउनुभएको छ ।
पार्टीको केन्द्रीय कार्य समितिको सोमबार बसेको बैठकमा जवाफ दिने क्रममा पार्टीका उपसभापति समेत रहेका खड्काले राष्ट्रपतिको उपचारको विषय निकाल्नुभयो ।
‘यही अवसरमा राष्ट्रपतिको उपचारको खर्च व्यहोर्ने बारेमा सरकारले गरेको निर्णयको बारेमा पनि भन्न चाहन्छु उहाँको भन्नुभयो,“ किनभने सामाजिक सञ्चाल तथा मिडियाहरुमा यो विषय उठेको देखियो ।”
राष्ट्रपतिको उपचारका लागि सरकारले खर्च व्यहोर्ने कानूनी व्यवस्था नै रहेछ उहाँले भन्नुभयो,“ परिवारको तीन सदस्यसहित बिरामी राष्ट्रपतिको सम्पूर्ण उपचार खर्च सरकारले व्यवहोर्न सम्वन्धमा संसदले छुट्टै कानून बनाएको रहेछ । त्यसैलाई टेकेर हामीले निर्णय गरेका हौँ । अरुको हकमा बाहिर गएर उपचार गरेको खर्च दिन अलि नमिल्दो रहेछ । तर राष्ट्रपतिको हकमा भने छुट्टै ऐन नै रहेछ । उपचार खर्च निकै कम भए पनि एयर एम्बुलेन्समा लैजाँदा केही बढी खर्च आएको हो,’ उहाँले भन्नुभयो ।
गत १२ असारको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलको भारतमा गरिएको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । उपचारको संयोजन गरेको परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचार खर्च भुक्तानीका लागि भन्दै ५५ लाख २ हजार २७९ रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएको छ ।
बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले राष्ट्रपति पौडेल भारत उपचारका लागि आफ्नो र परिवारको कारणले नगएको ठोकुवा गर्नुभयो ।
‘उहाँको अवस्था अलि गम्भीर छ भने पछि सबैभन्दा पहिले म भेटन गएको थिएँ । त्यसपछि प्रधानमन्त्री पनि जानु भयो । हामीले डाक्टरसंग सल्लाह गर्दा भारत लैजान ठिक भन्ने निष्कर्ष निस्कियो । बरु राष्ट्रपति ज्यूले त जान मानि राख्नु भएको थिएन । प्रधानमन्त्री ज्यू र मैले तत्कालै मुख्य सचिवलाई फोन गरेर भारत उपचारको प्रवन्ध मिलाउन भन्यौँ र अर्को दिन दिल्ली लगेको हो,’ खड्काले उपचार बारेमा बेलिविस्तार लगाउनुभयो ।
दिल्लीबाट फर्केपछि राष्ट्रपतिको सचिवालयले उपचार खर्च आफैले व्यहोर्न चाहेको बताएको थियो ।
तर, केही साता पछि उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको सार्वजनि भएपछि राष्ट्रपति र सरकारको आलोचना भएको थियो ।