काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ ।
मंगलबार भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेको भेटमा सहभागी नेपाल परिवार नियोजन संघका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिनुभयो।
प्रधानमन्त्री दाहालले महासंघले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिएका थिए।
महानिर्देशक डा बरमेजोले महासंघले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताएका थिए। भेटमा नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजू, महासंघका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा हरजोत खोसा सहभागी थिए।
महासंघ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो। महासंघमा विश्वका एक सय ८९ देशका परिवार नियोजन संघ आबद्ध छन्।
नेपाल परिवार नियोजन संघले सन् १९६० मा यस महासंघको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो। मूलतः गरिब, सीमान्तकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसंख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासंघले विश्वभर आफ्ना सदस्य–संघमार्फत लगानी गर्दै आएको छ।