काठमाडौं,१२ वैशाख । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमै दुईसय भन्दा बढी प्रत्यारोपण भएको छ।
केन्द्रको ११ औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एक वर्षको अवधिमा २७ हजार ८६७ सेसन हेमोडाइलाइसिस भएको बताउनुभयो।
उहाँले दुई लाख ३७ हजार ५५५ जनाको ल्याब परिक्षण , ८२२ वटा मुख्य शल्यक्रिया र ९९१ जनाको माइनर शल्यक्रिया भएको जानकारी दिनुभयो।
डा. श्रेष्ठले एक वर्षमा ५४ हजार ८३६ जनाले ओपिडीमा सेवा लिएको, १५९ जनाको क्याथ ल्याव सेवा र १९ सय १६ जनाकाे सिटिस्क्यान भएको बताउनुभयो ।
उहाँले एक वर्षमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानबाट ४ जनाको मिर्गाैला र २ जनाको कलेजो प्रत्यारोपण भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले अस्पतालमा सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक, प्रशासनिक,सरसफाइका कर्मचारीको अथक प्रयासमा केन्द्रले सफलता हासिल गरेको बताउनुभयो।
उहाँले भावि योजना प्रस्तुत गर्दै केन्द्रलाई प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, केन्द्रको क्षमता विस्तार गरी ५०० शैयाको अत्याधुनिक सुविधा सम्पन्न केन्द्र बनाउने र यथाशक्य छिटो कर्मचारीको वृत्ति विकास हुने कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउनुभयो ।
समारोहमा मानव अंग प्रत्यारोपण केन्द्रका पूर्व अध्यक्ष डा शुशीलनाथ प्याकुरेलले केन्द्रले छोटाे समयमा धेरै प्रगति हासिल गर्न सकेको बताउनुभयो।
उहाँले आफ्नो पालामा भर्खरै सुरु भएको केन्द्रलाई विकास गरी हालको अवस्थासम्म ल्याउनको लागि आफु सँधै लागीपरेको बताउनुभयो । केन्द्रको प्रगतीमा केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहयोग र साथले यस किसिमको सफलता प्राप्त भएकोमा सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिनु भयो ।
उक्त कार्यक्रममा विरामीको प्रतिनिधित्व गर्ने मिर्गौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मिर्गौला सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले विरामीको उपचारमा पुर्याउनु भएको सेवा र सहयोगको उच्च सम्मान गर्नुभयो । उहाँले केन्द्रको विषयमा विरामी माझ नकारात्मक र भ्रामक समाचार तथा अभिव्यक्ती दिने विरुद्ध आँफुहरु जस्तो सुकै प्रतिकार गर्न प्रतिवद्ध रहेको र केन्द्रले गरेका राम्रा काममा सधैं समर्थन गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा बोर्ड सदस्य प्रेम प्रकास उप्रेतीले केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीरुको मेहनत र परिश्रमको कदर गर्नुपर्ने बताउनुभयो।