डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ। दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको अभाव झेलेको अस्पतालले अब दैनिक दुई सय सिलिन्डर भर्न सकिने प्लान्ट जडान गरिहेको हो। सुदूरपश्चि प्रदेशको पहाडी ७ जिल्लाको केन्द्र बिन्दु डडेल्धुरा अस्पतालमा ठूलो अक्सिजन प्लान्ट जडानको कार्य तिब्र पारीएको छ। कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन अभावले ज्यान गएको तथा अक्सिजन अभाव भएपछि सरकारले अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ उपलब्ध गराएको थियो। सोही रकम पाएपछि अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयोे ।
डडेल्धुरा अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको थियो। हाल जडान भइरहेको अक्सिजन प्लान्टको क्षमता दैनिक २ सय सिलिन्डर भन्दा बढी रहेकोले डडेल्धुरा अस्पतालमा मात्रै नभई सुदूरपश्चिमभरी नै अक्सिजनको अभाव नहुने भएपछि डडेलधुराका नागरिक हर्षित छन्। गत असार मसान्तसम्म अक्सिजन प्लान्ट जडानको काम सक्ने गरि सम्झौता भएको भए पनि नेपाल सरकारले नै सम्झौताको म्याद थप गर्दा केही ढिलाइ भएको छ। साउन महिनाभित्र मेसिन जडानको सम्पुर्ण काम सम्पन्न गरी भदौ महिनाबाट अक्सिजन उत्पादन गर्ने निर्माण कम्पनीको दाबी छ।
नेपाल सरकारले डडेल्धुरा अस्पतालका लागि आईसीयू, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ६ करोड ८० लाख, एचडीयू स्थापनाका लागि ३ करोड १२ लाख ७० हजार र अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रकम विनियोजन गरेको थियो।