काठमाडौँ, १२ चैत । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका स्वास्थ्य संस्थाहरूको विवरण खोज्ने भएको छ ।
महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै स्वास्थ्य संस्थाहरुको यथार्थ विवरण माग गरेको छ ।
काठमाडौं महानगरपालिकाभित्र ३२ वटै वडाहरुमा स्वास्थ्य संस्थाहरूको तथ्याङ्क संकलन गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरू समेत परिचालन भइसकेका छन् ।
काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले चैत १० गतेदेखि नै स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्न फिल्डमै स्वास्थ्य स्वयंसेविकाहरू खटाएको छ । उनीहरूलाई सही सूचना र विवरण उपलब्ध गराई आवश्यक सहयोग गरिदिनका लागि समेत सम्बन्धित पक्षलाई स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सरकारी, सामुदायिक, सहकारी र निजीस्तरबाट सञ्चालनमा रहेका विभिन्न प्रकृतिका स्वास्थ्य संस्थाहरूको यथार्थ विवरणसहितको तथ्याङ्क संकलन गर्नका लागि २०७९/८० मा कार्यक्रम स्वीकृत भएको थियो । उक्त स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य विभागले विवरण संकलनको काम सुरु गरेको हो ।
