पाँचथर २८ मंसिर । आर्थिक अभावले उपचार नपाएका नागरिकको शरिरका अंगमा राखिएका स्टिल र रड झिकिएको छ ।
सर्वसाधारणलाई लक्षित गर्दै पाँचथरको फिदिममा आयोजना गरिएको हाड जोर्नीको शल्यक्रिया सम्वन्धि शिविरबाट एकसय जना लाभान्वित भएका छन् ।
जिल्लाका विभिन्न स्थानमा यसरी स्टिल रड रहेका मानिसको सख्या बढ्दै गएपछि फिदिम नगरपालिका,नेपाल माउण्टेन मोवाइल हस्पिटल बेल्जियम, सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी काठमाडौं र पाँचथर जिल्ला अस्पतालले फिदिममा दुई चरण गरेर यो शिविर आयोजना गरेका हुन् ।
पहिलो चरणमा मङसिर १३ देखि १८ गते सम्म शिविर सञ्चालन गर्दा ६१ विरामीको शरिरबाट स्टिल रड झिकिएको थियो ।
फिदिम नगरपालिकाका प्रमूख मित्रप्रसाद काफ्लेले उक्त शिविरमा विरामीको चाप नघटेपछि पुनः मंसिर २५ देखि दोस्रो चरणमा शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
माउन्टेन मोवाइल हस्पिटल बेल्जिम र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीले हाड जोर्नी टुटेका र भाँचिएका बिरामीको सुविधालाई ध्यानमा राख्दै देशका विभिन्न जिल्लामा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।