काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । तीन वर्ष अघिदेखि क्यान्सर रोगबाट पीडित स्मिताको साेमबार साँझ ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले मोसका परिवार मर्माहत भएको जनाएको छ । समाजका अध्यक्ष नरेन्द्र खतिवडाद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्तिम दाहसंस्कार पशुपति आर्यघाट आज मिति २०७९ साल श्रावण ३० गते सोमबार बेलुका ९ बजे गरिनेछ ।’घिमिरे पछिल्लो पटक बोनम्यारोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । स्मिताको सोमबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । गायिका घिमिरेले थुप्रै नेपाली गीतहरू गाउनुभएको छ । केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत सार्वजनिक गर्नुभएको थियो। ४–५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय स्मिताले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक रुपमा गायन क्षेत्रमा काम गर्न थाल्नुभएको हो।
सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो ।