काठमाडौ । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनकोे स्वागत गरेको छ।
प्रतिनीधिसभाबाट ऐन पारित भएसंगै अब चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षाको महसुस गर्नु नपर्ने भन्दै संघले स्वास्थ्य मन्त्रालय, सांसद, सरकार तथा सञ्चारकर्मीलाई धन्यवाद दिएको छ ।
धेरै लामो समयसम्म संघर्ष गर्दा गर्दै ऐनको रुपमा स्थापित गराउन सफल भएको भन्दै संघले लामो संघर्षबीच ऐन आउन सफल भएको बताएको छ ।
संघका अध्यक्ष डा लोचन कार्कीले संघले निरन्तर आन्दोलन तथा दबाबमूलक प्रयासकाबीच स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धि कानुन आएको बताउनुभयो । आजको दिन सबै स्वास्थ्यकर्मीको लागि ऐतिहासिक दिन हो,कार्कीले भन्नुभयो,‘हामीले ऐनलाई अतुलनिय उपलब्धीका रुपमा लिएका छौं ।’
ऐनलाई कार्यान्वयन गराउन चुनौति रहेको भन्दै उहाँले ऐन कार्यान्वयनमा पनि सबैको सहयोगको आवस्यकता रहेको बताउनुभयो ।
संघका महासचिव डा. बद्री रिजालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन एन २०७९ चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल वा स्वास्थ्य संस्थाहरूको पूर्ण सुरक्षाको लागि कोशेढुङगा सावित हुने बताउनुभयो ।
अबका दिनमा नेपाल सरकार र सुरक्षा निकायहरुले सोही ऐन बमोजिम आवश्यक नियमावलीहरुको तर्जुमा गरेर नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कानून सम्वत तवरबाट संचालन गर्न संघले सरकारसँग माग गरेको छ।
स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि ऐन पारित भएकोमा संघका पूर्व अध्यक्षहरु डा.केदारनरसिंह केसी,डा.भोलामान श्रेष्ठ,डा.अञ्जनी कुमार झा,डा.मुक्ति श्रेष्ठ लगायतले उक्त ऐनको स्वागत गर्नुभएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (पहिलो संसोधन)ऐन २०७९ प्रतिनिधि सभाबाट बुधबार पारित भएको थियो।