काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ। त्यसका लागि सरकारले करिब १७ खर्ब ४५ अर्बको बजेट ल्याउन लागेको बताइएको छ। सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। संवैधानिक व्यवस्था सरकारले हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। शनिबारको प्रतिनिधि सभा बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भइसकेको छ। नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो।
बजेटमा ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी/व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब/भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने छ।
सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको छ। सरकारले यो वर्षबाट वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने तयारी गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। शनिबार संसद् बैठकबाट आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम पारित भएको थियो ।