• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मुटु उपचारका लागि बागमती प्रदेशका १० अस्पतालमा सेवा सुदृढ गरिँदै

    मुटु उपचारका लागि बागमती प्रदेशका १० अस्पतालमा सेवा सुदृढ गरिँदै

    आइतबार, असोज ११ २०८३
    आइतबार, असोज ११ २०८३
    मुटु उपचारका लागि बागमती प्रदेशका १० अस्पतालमा सेवा सुदृढ गरिँदै

    काठमाडौँ, ११ असोज । बागमती प्रदेश सरकारले मुटु रोगको उपचारलाई सहज र पहुँचयोग्य बनाउन प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ ।

     हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा क्याथल्याबसहितको मुटु उपचार सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ ।

    images

    विश्व मुटु दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नागरिक स्वस्थ नभएसम्म मुलुकको विकास र समृद्धि सम्भव नहुने भएकाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

    उहाँले हृदयघातजस्तो आकस्मिक अवस्थामा बिरामीलाई उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने अवस्थाले उपचारमा ढिलाइ हुन सक्ने भएकाले प्रदेशका विभिन्न अस्पतालमा आवश्यक सेवा तथा औषधिको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री थापाका अनुसार सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, हेटौँडा, चितवनलगायत १० वटा अस्पतालमा आवश्यक औषधि तथा उपचार सामग्रीको व्यवस्था गरिएको छ । स्थानीय तहमै आकस्मिक मुटु उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालको क्षमता बढाउने काम भइरहेको उहाँले बताउनुभयो ।

    मुख्यमन्त्री थापले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो । स्वस्थ नागरिक निर्माणसँगै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सके मात्र प्रदेशको समग्र विकासलाई गति दिन सकिने उहाँको भनाइ थियो ।

    कार्यक्रममा रसुवामा आएको बाढीपछि प्रदेश सरकारले गरिरहेको विपद् व्यवस्थापनका कामबारे पनि उहाँले जानकारी दिनुभयो । बाढीबाट भएको क्षतिको विवरण सङ्कलन, प्रभावितलाई राहत तथा पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो ।

    नदीका कोरिडोर तथा बगर क्षेत्रमा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थित पुनर्निर्माण गरिने मुख्यमन्त्री थापले जानकारी दिनुभयो ।

    कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगलगायत नसर्ने रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताउनुभयो । आफ्नो स्वास्थ्यका प्रमुख सूचकबारे नियमित जानकारी राख्ने बानीले रोगको जोखिम पहिचान र समयमै उपचारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    सरकारले प्रत्येक फागुन महिनालाई नसर्ने रोगको स्वास्थ्य परीक्षण महिनाका रूपमा घोषणा गर्ने पहल सकारात्मक रहेको उल्लेख गर्दै डा. कोइरालाले रोग लागेपछि उपचार गर्नुभन्दा नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताउनुभयो ।

    समाजको करिब एक चौथाइ जनसङ्ख्यामा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको सन्दर्भ उल्लेख गर्दै उहाँले नियमित व्यायामले शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार