• बिहीबार , ५ कात्तिक २०८३
  • images

    बाढी प्रभावितका लागि एक हजार घर निर्माण गर्ने बागमती प्रदेश सरकारको तयारी

    बाढी प्रभावितका लागि एक हजार घर निर्माण गर्ने बागमती प्रदेश सरकारको तयारी

    आइतबार, असोज ११ २०८३
    आइतबार, असोज ११ २०८३
    बाढी प्रभावितका लागि एक हजार घर निर्माण गर्ने बागमती प्रदेश सरकारको तयारी

    भक्तपुर ११असोज  । बागमती प्रदेश सरकारले भोटेकोसी बाढीबाट प्रभावित परिवारका लागि चालु आर्थिक वर्षभित्रै एक हजार घर निर्माण गर्ने तयारी गरेको छ ।

    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित तथा विपन्न परिवारको आवास निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो । भक्तपुर नागरिक समाजले विश्व पर्यटन दिवसका अवसरमा आइतबार नेपाल प्रेस सोसाइटीमा आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ विषयक अन्तरक्रियामा उहाँले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गरिने बताउनुभयो ।

    images

    मुख्यमन्त्री थापामगरले प्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माण अघि बढाउन प्रदेश मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जानकारी दिनुभयो । प्रदेशको स्वीकृत बजेटबाट तत्काल सञ्चालन गर्न आवश्यक नभएका कार्यक्रम तथा केही विकास कार्यक्रमको बजेट कटौती गरी प्रभावित क्षेत्रमा लगानी गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

    “बागमतीको बजेट बनिसकेको छ । उक्त बजेटबाट अन्य खर्च नहुने कार्यक्रम र केही विकासका बजेट कटौती गरेर जहाँ प्रभावित क्षेत्र छ, जहाँ पुनर्निर्माण र पुनर्स्थापना गर्नुपर्नेछ, त्यहाँ तत्काल बजेट लगेर पुनर्निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराइसकेको छु,” मुख्यमन्त्री थापामगरले भन्नुभयो ।

    उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन आर्थिक मामिला मन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्रालयमा चालु आर्थिक वर्षमा सञ्चालन नगर्दा पनि हुने कार्यक्रम पहिचान गर्ने काम अघि बढाइएको छ ।

    प्रत्येक मन्त्रालयको बजेटबाट करिब १० प्रतिशतसम्म कटौती गर्न सकिए करिब पाँच अर्ब रुपियाँ स्रोत बचत हुने अनुमान गरिएको मुख्यमन्त्री थापामगरले बताउनुभयो । उक्त रकमलाई बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि परिचालन गर्ने प्रदेश सरकारको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

    मुख्यमन्त्री थापामगरले विपद्पछि प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापनामा समेत प्रदेश सरकारले ध्यान दिने बताउनुभयो । बाढीबाट घरबारविहीन भएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाइने उहाँको भनाइ थियो ।

    उहाँले प्रदेश सरकारको स्रोत सीमित भए पनि आवश्यक कार्यक्रमको बजेट पुनः प्राथमिकतामा राखेर विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणलाई गति दिने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार