• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानको १ करोड ३१ लाख सहयोग

    बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानको १ करोड ३१ लाख सहयोग

    बिहीबार , भदौ १८ २०८३
    बिहीबार , भदौ १८ २०८३
    बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानको १ करोड ३१ लाख सहयोग

    काठमाडौँ, १८ भदौ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वास्थ्य क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

    यसै क्रममा तिलगंगा आँखा प्रतिष्ठान र प्रतिष्ठानका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख ५१ हजार ३५२ रुपैयाँ सहयोग गरेका छन्।

    प्रतिष्ठानले १ करोड १ लाख १ रुपैयाँ तथा कर्मचारीको एक दिन बराबरको पारिश्रमिकबापत ८ लाख ५१ हजार ३५१ रुपैयाँ कोषमा जम्मा गरेको हो।

    त्यस्तै, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अस्ट्रेलियाले २१ लाख ८१ हजार २ सय रुपैयाँ सहयोग गरेको छ। उक्त रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताइएको छ।

    यसरी तिलगंगा आँखा प्रतिष्ठान, कर्मचारी र साझेदार संस्थाबाट गरी कुल १ करोड ३१ लाख ३२ हजार ५५२ रुपैयाँ बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग भएको छ।

    रकम हस्तान्तरणका क्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहाल अर्थ मन्त्रालय पुग्नुभएको थियो। उहाँहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।

    भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सहयोग घोषणा हुने क्रम बढिरहेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार