• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    रसुवा बाढी : अस्थायी शव व्यवस्थापन केन्द्रमा २८० शव

    रसुवा बाढी : अस्थायी शव व्यवस्थापन केन्द्रमा २८० शव

    सोमबार, भदौ १५ २०८३
    सोमबार, भदौ १५ २०८३
    रसुवा बाढी : अस्थायी शव व्यवस्थापन केन्द्रमा २८० शव

    काठमाडौँ, १५  भदौ । रसुवामा आएको भीषण बाढीपछि फेला परेका शव तथा मानव शरीरका अंगको खोजी, पहिचान र व्यवस्थापन कार्य जारी रहेको छ।

    बाढीपछि फेला परेका शवमध्ये सोमबारसम्म १९९ वटा शव अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरिएकोमा मंगलबार थप ८१ वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। यससँगै हालसम्म अस्थायी शव व्यवस्थापन केन्द्रमा २८० वटा शव व्यवस्थापन गरिएको छ।

    बाढी प्रभावित क्षेत्रमा अझै पनि शव तथा मानव शरीरका अंग फेला पर्ने क्रम जारी रहेको जिल्ला प्रहरीले जनाएको छ। मंगलबार पनि केही शव तथा शरीरका अंग फेला परेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी अस्थायी शव व्यवस्थापन केन्द्रमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

    फेला परेका शव तथा मानव शरीरका अंगको पहिचानका लागि सम्भव भएसम्म डीएनए नमुना संकलन गर्ने प्रक्रिया अघि बढाइएको छ। बाढीका कारण कतिपय अवस्थामा पूर्ण शव नभई शरीरका विभिन्न अंग मात्र फेला पर्ने भएकाले त्यस्ता अंगबाट समेत सम्भव भएसम्म डीएनए नमुना संकलन गरी पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    शव वा शरीरका अंग फेला परेपछि घटनास्थलमा आवश्यक मुचुल्का तथा अन्य कानुनी प्रक्रिया पूरा गरी डीएनए नमुना संकलन गर्ने र त्यसपछि क्रमिक रूपमा अस्थायी व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्ने गरिएको छ।

    प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै फेला परेका शव र मानव शरीरका अंगको सुरक्षित व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। पहिचान खुल्न नसकेका शव तथा अंगको वैज्ञानिक परीक्षणबाट पहिचान कायम गर्ने प्रक्रिया समेत अघि बढाइएको छ।

    बाढीमा आफन्त हराइरहेका परिवारलाई शव तथा शरीरका अंगको पहिचानका लागि आवश्यक डीएनए नमुना उपलब्ध गराउन प्रहरीले यसअघि नै आग्रह गरिसकेको छ। वैज्ञानिक विधिबाट पहिचान स्थापित भएपछि सम्बन्धित परिवारलाई जानकारी गराउने र आवश्यक प्रक्रिया पूरा गरी शव हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार