धनगढी, २६ साउन। मानसिक रोग विशेषज्ञ चिकित्सकको अभावमा लामो समयदेखि प्रभावित बनेको सेती प्रादेशिक अस्पतालको मानसिक स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ ।
अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सक उपलब्ध भएपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने बिरामीले अब बहिरङ्ग विभागबाट नियमित विशेषज्ञ परामर्श लिन पाउने भएका छन्।
छात्रवृत्ति करारअन्तर्गत विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भएपछि साउन २६ गतेदेखि मानसिक रोगसम्बन्धी ओपीडी सेवा सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ।
विशेषज्ञ चिकित्सकको अभावमा केही महिनादेखि मानसिक रोगको ओपीडी सेवा सञ्चालन हुन नसक्दा सेवाग्राही प्रभावित भएका थिए। चिकित्सकको पदपूर्ति भएसँगै अस्पतालले पुनः नियमित सेवा उपलब्ध गराउन थालेको हो।
अस्पताल प्रशासनका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीले अब अस्पतालमै विशेषज्ञ चिकित्सकबाट आवश्यक परामर्श तथा उपचार सेवा लिन सक्नेछन्।
मानसिक रोगको ओपीडी सेवा पुनः सञ्चालनमा आएको जानकारी अस्पताल प्रशासन शाखाले सार्वजनिक सूचनामार्फत गराएको हो।