• आइतबार, २ कात्तिक २०८३
  • images

    आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना

    आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना

    सतर्कता अपनाउन मौसम विभागको आग्रह

    शनिबार, साउन २ २०८३
    शनिबार, साउन २ २०८३
    आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना

    काठमाडौँ, २ साउन । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई आसपास र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिन उल्लेख्य वर्षा हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो।

    images

    विभागका अनुसार शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

    सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

    यस्तै, निरन्तर वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

    आज राति पनि देशका अधिकांश स्थानमा बदली रहने तथा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले पुनः आग्रह गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार