• शनिबार, १ कात्तिक २०८३
  • images

    शुक्रबारदेखि भारी वर्षा हुने

    शुक्रबारदेखि भारी वर्षा हुने

    सावधानी अपनाउन मौसम विभागको आग्रह

    बुधबार, असोज १५ २०८२
    बुधबार, असोज १५ २०८२
    शुक्रबारदेखि भारी वर्षा हुने

    काठमाडौँ, १५ असोज  । शुक्रबारदेखि (असोज १७ ) भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

    विभागले मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

    images

    विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारीगरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको हो। 

    असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

    यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    असोज १९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागकी मौसमविद् विनु महर्जनले भन्नुभयो, “हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओरिसाबाट जमिनको भू–भाग हुँदै प्रवेश गरी मध्यभारततर्फ क्रमशः सर्नेभएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।”

    उहाँले न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशका विभिन्न भूभाग खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताउनुभयो । 

    “नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहनेछ । हाल  नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम वदली भइरहेको छ” उहाँले भन्नुभयो । असोज १७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    दसैँको अन्तमा मनसुन सक्रिय हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरोका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने देखिएको विभागले जनाएको छ । मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार