काठमाडौँ, १९ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदका लागि दुई जनाको नाम सिफारिस गरेको छ।
सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
हाल डा. देवकोटा डडेल्धुरा अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत हुनुहुन्छ । डा. शर्मा गण्डकी प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालीम केन्द्रका निर्देशक हुनुहुन्छ।
मन्त्रालयका अनुसार बढुवा प्रक्रियामा प्राप्त अंकभारका आधारमा उत्कृष्ट दुई उम्मेदवारको नाम सिफारिस गरिएको हो। यसअघि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको नाम पनि चर्चामा रहेकामा अन्तिम मूल्याङ्कनमा उहाँ सिफारिस सूचीमा पर्न सक्नुभएन ।
अतिरिक्त स्वास्थ्य सचिव पद गत भदौदेखि रिक्त रहेको छ। उक्त पदमा कार्यरत टंक बाराकोटीले राजीनामा दिएपछि बढुवा प्रक्रियामार्फत पदपूर्तिका लागि योग्य उम्मेदवारबाट आवेदन मागिएको थियो। सो प्रक्रियामा १३ जनाले आवेदन दिएका थिए।
बढुवा समितिबाट सिफारिस भएका दुई उम्मेदवारमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा गर्नेछ।