काठमाडौं, १८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार र जनस्वास्थ्य प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिने बताउनुभएको छ।
नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले महिला स्वास्थ्य स्वयंसेविका समुदाय स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।
उहाँले मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। स्वयंसेविकाको हकहित संरक्षण, मनोबल अभिवृद्धि तथा सेवा सुविधामा सुधार गर्न प्रदेश सरकार सकारात्मक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घकी लुम्बिनी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री आचार्यसमक्ष नौबुँदे माग तथा सुझावपत्र पेस गरेको थियो। मागपत्रमा सेवा अवधि पूरा गरी ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश सुविधा उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, चाडपर्व खर्चको व्यवस्था गर्नुपर्ने तथा दुर्घटना र मृत्यु राहत कोष स्थापना गर्नुपर्ने माग समावेश छन्।
त्यस्तै मासिक प्रतिवेदन भत्ता वृद्धि, सेवा सुविधाको विस्तार तथा स्वयंसेविकाको योगदानको संस्थागत सम्मान सुनिश्चित गर्नुपर्ने विषय पनि मागपत्रमा उल्लेख गरिएको छ।
हाल लुम्बिनी प्रदेश सरकारले सेवा अवधि पूरा गरी अवकाश लिने महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाका माग तथा सुझावहरूको अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको सम्मान, सामाजिक सुरक्षा तथा सेवा सुविधाको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ।