काठमाडौँ, १४ जेठ । नेपाल स्वास्थ्य प्राविधिक संघ ले आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशन आगामी असोज ९ र १० गते आयोजना गर्ने निर्णय गरेको छ।
संघको गत जेठ १२ गते बसेको एघारौँ पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो। बैठकले विधानअनुसार सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया अघि बढाउन मातहतका सबै तहका कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको जनाएको छ।
संघका महासचिव श्यामकुमार ओलीद्वारा जारी विज्ञप्तिअनुसार संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले देशभर सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ।
२०३६ साल असार १६ गते नेपाल स्वास्थ्य प्राविधिक संघ राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम स्थापना भएको उक्त संस्था स्वास्थ्य प्राविधिकहरूको पेशागत हकहित संरक्षण तथा पेशागत विकासका क्षेत्रमा सक्रिय रहँदै आएको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा संघका अध्यक्ष पदेन सदस्य रहने कानुनी व्यवस्था रहेको छ। साथै संघको सिफारिसका आधारमा सरकारले जनस्वास्थ्य, फिजियोथेरापी र प्याथोलोजी विषयबाट एक–एक जना प्रतिनिधिलाई परिषद् सदस्यमा मनोनयन गर्ने व्यवस्था पनि रहेको छ।