काठमाडौं, २८ वैशाख । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यसहित पुनर्संरचना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था अघि सारिएको हो।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले सहज, विश्वसनीय र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न स्वास्थ्य बीमा प्रणालीमा आवश्यक सुधार गरिने बताउनुभयो ।
हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमप्रति सेवाग्राहीबाट विभिन्न गुनासा आउने गरेका छन्। अस्पतालमा आवश्यक सेवा प्राप्त गर्न कठिनाइ हुने, औषधिको अभाव देखिने तथा बीमा दाबी भुक्तानी प्रक्रिया ढिलो हुने समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। बीमा शुल्क तिरे पनि अपेक्षित सेवा नपाएको नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी कार्यक्रम पुनर्गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति, औषधि, उपकरण र पूर्वाधारसहितको एकीकृत स्वास्थ्य सेवा प्रणाली कार्यान्वयन गर्ने योजना पनि अघि सारेको छ।
त्यसैगरी, स्थानीय तहसम्म आधारभूत अस्पताल सेवाको पहुँच विस्तार गरी स्वास्थ्य सेवालाई लागत प्रभावकारी र नागरिकमैत्री बनाइने सरकारको लक्ष्य छ। सामुदायिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, संख्या विस्तार र सेवा दायरा वृद्धि गरिने नीति पनि सरकारले लिएको छ।
दुर्गम तथा पहुँचबाहिर रहेका क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन टेलिहेल्थ प्लेटफर्ममार्फत परामर्श सेवा विस्तार गरिने सरकारको योजना रहेको छ।