• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    भारतको मेडिकल टुरिजम बजार ९ अर्ब डलर

    भारतको मेडिकल टुरिजम बजार ९ अर्ब डलर

    नेपाल किन पछि ?

    आइतबार, वैशाख २७ २०८३
    आइतबार, वैशाख २७ २०८३
    भारतको मेडिकल टुरिजम बजार ९ अर्ब डलर

    काठमाडौँ, २७ वैशाख । पछिल्ला केही वर्षयता भारत विश्वकै प्रमुख मेडिकल टुरिजम गन्तव्यमध्ये एकका रूपमा तीव्र रूपमा उदाएको छ। 

    तुलनात्मक रूपमा कम खर्चमा गुणस्तरीय उपचार, आधुनिक स्वास्थ्य प्रविधि, अनुभवी चिकित्सक तथा सहज पहुँचका कारण नेपालसहित दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकी मुलुकका लाखौँ बिरामी उपचारका लागि भारत पुग्ने गरेका छन्।

    भारत सरकार तथा स्वास्थ्य पर्यटनसम्बन्धी विभिन्न तथ्यांकअनुसार सन् २०२४ मा मात्रै करिब ६ लाख ४४ हजारभन्दा बढी विदेशी नागरिक औपचारिक रूपमा उपचारका लागि भारत पुगेका थिए। सन् २०२० मा यो संख्या करिब १ लाख ८२ हजार रहेको थियो। कोभिड–१९ महामारीपछि मेडिकल टुरिजम क्षेत्रमा तीव्र वृद्धि भएको विश्लेषण गरिएको छ।

    यद्यपि स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार वास्तविक संख्या सरकारी तथ्यांकभन्दा धेरै माथि हुन सक्ने अनुमान छ। विशेषगरी नेपाल र भुटानजस्ता खुला तथा सहज सीमा भएका मुलुकबाट ठूलो संख्यामा बिरामी मेडिकल भिसाबिनै भारत पुग्ने भएकाले सबै तथ्यांक अभिलेखमा नसमेटिएको उनीहरूको भनाइ छ। केही उद्योग विश्लेषणले भारतमा वार्षिक २० लाखदेखि ३० लाखसम्म विदेशी बिरामी उपचारका लागि पुग्ने अनुमान गरेका छन्।

    विदेशी बिरामीबाट भारतले अर्बौं डलर आम्दानी गरिरहेको छ। विभिन्न उद्योग प्रतिवेदनअनुसार भारतको मेडिकल टुरिजम बजार सन् २०२४ मा करिब ७.६९ अर्ब अमेरिकी डलर बराबर पुगेको थियो भने सन् २०२५ सम्म यो बजार ९ अर्ब डलर नाघ्ने प्रक्षेपण गरिएको छ। भारत सरकारले ‘हील इन इन्डिया’ अभियानमार्फत स्वास्थ्य पर्यटनलाई रणनीतिक उद्योगका रूपमा अघि बढाइरहेको छ।

    हाल भारतले १७१ देशका नागरिकलाई ई–मेडिकल भिसा सुविधा उपलब्ध गराउँदै आएको छ। मेडिकल भिसा प्रक्रिया सहज बनाइएपछि मध्यपूर्व, अफ्रिका र दक्षिण एसियाबाट बिरामीको आगमन उल्लेख्य रूपमा बढेको भारतीय अधिकारीहरूको भनाइ छ।

    नेपाल, बंगलादेश, भुटान, इराक, ओमान, सोमालिया, केन्या, नाइजेरिया, उज्वेकिस्तान, अफगानिस्तान र माल्दिभ्सबाट भारतमा सबैभन्दा धेरै विदेशी बिरामी पुग्ने गरेका छन्। नेपालबाट विशेषगरी मुटुरोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण, न्यूरोसर्जरी, बालरोग तथा जटिल शल्यक्रियासम्बन्धी उपचारका लागि भारत जाने क्रम उच्च छ।

    विदेशी बिरामी विशेषगरी मुटुरोग, क्यान्सर, अंग प्रत्यारोपण, बोन म्यारो ट्रान्सप्लान्ट, न्यूरोसर्जरी, अर्थोपेडिक, कलेजो तथा मिर्गौला उपचारका लागि भारत पुग्ने गरेका छन्।

    विदेशी बिरामी आकर्षित गर्ने प्रमुख अस्पताल

    भारतका अपोलो अस्पताल, मेदान्ता द मेडिसिटी, फोर्टिस हेल्थकेयर, नारायणा हेल्थ, बीएलके म्याक्स सुपरस्पेसियालिटी तथा एमआईओटी इन्टरनेशनल लगायत अस्पताल विदेशी बिरामीका प्रमुख गन्तव्य बनेका छन्। यी अस्पतालहरूले नेपाली भाषा बोल्ने कर्मचारी, अन्तर्राष्ट्रिय बिरामी समन्वय सेवा, एयरपोर्ट पिकअप तथा मेडिकल भिसा सहजीकरण सेवा समेत सञ्चालन गर्दै आएका छन्।

    नेपालले कहिले लिन्छ पहल ?

    स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार दक्षिण एसियाली मुलुकमा जटिल उपचार सेवाको सीमित पहुँचका कारण भारतप्रतिको निर्भरता अझै उच्च छ। भारतले सरकारी नीति, निजी लगानी र अन्तर्राष्ट्रिय स्वास्थ्य बजार विस्तारलाई प्राथमिकता दिएकाले आगामी वर्षहरूमा मेडिकल टुरिजम अझ तीव्र रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।

    यता नेपालमा भने मेडिकल टुरिजमको सम्भावना लामो समयदेखि चर्चा भए पनि स्पष्ट नीति, कानुनी संरचना र कार्यान्वयन अभावका कारण यो क्षेत्र अझै व्यवस्थित रूपमा अघि बढ्न सकेको छैन। अस्पताल सञ्चालक तथा स्वास्थ्य व्यवसायीहरूले नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउन सकिने धारणा राख्दै आए पनि त्यसअनुसारको सरकारी रणनीति बन्न सकेको छैन।

    विदेशी बिरामीलाई लक्षित मेडिकल भिसा, उपचार सहुलियत, अन्तर्राष्ट्रिय बिरामी सहायता सेवा तथा स्वास्थ्य पूर्वाधार विस्तारमा सरकारले प्राथमिकता दिन सके नेपालले पनि मेडिकल टुरिजमबाट उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावना देखिन्छ।

    हाल पनि नेपालमा आँखा उपचारका लागि भारत, बंगलादेश तथा भुटानबाट बिरामी आउने गरेका छन्। पछिल्ला वर्षहरूमा भारतबाट समेत मिर्गौला प्रत्यारोपणका लागि नेपाल आएका उदाहरण छन्। स्वास्थ्य सेवा विश्वसनीय, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सके आगामी केही वर्षमै नेपालले पनि मेडिकल टुरिजमलाई महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा विकास गर्न सक्ने विज्ञहरूको भनाइ छ।
    एजेन्सी 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार