तत्कालै मौसम सुधारको सम्भावना छैन: मौसमविद
काठमाडौँ, १३ वैशाख । अहिले काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशको तराई र पहाडी भूभागमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा वर्षा भइरहेको छ ।
पश्चिमबाट गण्डकी प्रदेशतिर फेरि नयाँ पानी पार्ने प्रणाली विकास हुँदै गएको छ ।
मौसमविद् हरिप्रसाद दाहालले कोशी प्रदेशको तराई भूभाग र पहाडी भूभागतिर भारी वर्षा भएको जानकारी दिदै बागमती प्रदेशको पहाडी भूभागमा पनि पानी परेको बताउनुभयो ।
गण्डकी र लुम्बिनी प्रदेशको पनि पहाडी भूभागमा वर्षा भएको छ ।
काठमाडौँ उपत्यका अन्तर्गत चन्द्रागिरी, नयाँसडक, बबरमहल, नैकाप, गोदावरी लगायतका क्षेत्रमा वर्षा भएको छ । उहाँले तत्कालै मौसम सुधारको सम्भावना नरहेको पनि बताउनुभयो ।
अहिले नै मौसम सुधार हुने सम्भावना छैन । पश्चिमी क्षेत्रबाट पानी पर्ने प्रणाली विस्तारै पूर्वतिर सर्दै आएको छ, उहाँले भन्नुभयो ।