चितवन, ६ वैशाख । नेपाल चिकित्सक संघले आगामी जेठ १६ र १७ गते ‘मेडिकल सिटी’ चितवनमा ‘एनएमए कन २०२६’ आयोजना गर्ने भएको छ ।
संघले आईतबार पत्रकार सम्मेलनमार्फत ३०औँ सम्मेलन तयारीबारे जानकारी दिएको हो ।
संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ रहेको बताउनुभयो ।
उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौती समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर व्यापक छलफल गरिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा डा कार्कीले सम्मेलन चितवनमा आयोजना हुने तय भएको जानकारी दिदै जहाँ देशभरका चिकित्सक, स्वास्थ्यकर्मी, नीतिनिर्माता तथा सरोकारवालाहरूको सहभागिता रहने बताउनुभयो ।
उहाँले सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा तथा मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्र सञ्चालन हुने बताउनुभयो ।
सम्मेलनको महत्वबारे प्रकाश पार्दै केन्द्रीय अध्यक्ष डा कार्कीले २००७ सालमा स्थापना भएको नेपाल चिकित्सक संघले आफ्नो ७६औँ वर्षको यात्रामा स्वास्थ्य क्षेत्र सुधारका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो ।
उहाँले यसपटकको सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी थप सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि तथा आविष्कारलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित वैज्ञानिक सत्र सञ्चालन हुने जानकारी दिनुभयो ।
भरतपुरलाई सम्मेलन स्थल रोज्नुको कारण खुलाउँदै डा कार्कीले भन्नुभयो, “भरतपुरलाई हामी ‘मेडिकल सिटी’ भनिरहेका छौँ, जहाँ देशकै पुरानो भरतपुर अस्पताल, ठूलो क्यान्सर अस्पताल र दुईवटा मेडिकल कलेज छन् । यस्तो स्वास्थ्य हबमा राष्ट्रिय स्तरको सम्मेलन गर्दा मेडिकल सिटी निर्माणका चुनौती र सम्भावनाबारे पनि बहस हुनेछ ।”
उहाँले यो सम्मेलनले चितवनको पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा संघका महासचिव डा सञ्जीव तिवारीले एनएमए कनलाई केवल औपचारिक सम्मेलन नभई स्वास्थ्य क्षेत्र सुधारका लागि साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
उहाँले कन्फ्रेन्सले नीति निर्माणमा सहकार्य, अनुभव आदानप्रदान तथा नवीन समाधानको खोजीमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
भरतपुर घोषणापत्र जारी गर्ने लक्ष्यसहित हुन लागेको यस सम्मेलनले मुलुकको स्वास्थ्य क्षेत्रको नीति निर्माण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
डा तिवारीले देशभरका चिकित्सकहरूका लागि पायक पर्ने स्थान भएकाले पनि चितवन रोजिएको बताउनुभयो ।
उहाँले चितवन शाखाले यस्तो ठूलो जिम्मेवारी वहन गरेकोमा केन्द्रको तर्फबाट धन्यवाद दिनुभयो ।
साथै, सम्मेलनमा चिकित्सकहरूले गरेका नयाँ अनुसन्धान तथा खोजपत्रहरू प्रस्तुत गरिने र नयाँ कार्यसमितिलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिने जानकारी दिनुभयो ।
नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा उमेश नेपालले ३०औँ संस्करणको आयोजना गर्ने अवसर चितवनले पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले प्रत्येक तीन वर्षमा हुने यस सम्मेलनमा वैज्ञानिक सत्रहरूसँगै नयाँ निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम पनि रहने बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनका मुख्य प्राज्ञिक तथा वैज्ञानिक कार्यक्रमहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा सञ्चालन हुनेछन् ।
त्यस्तै, नेपाल चिकित्सक संघ चितवन शाखाका सचिव डा महेन्द्र अग्रहरीले केन्द्रले जिल्लालाई यो महत्वपूर्ण कार्यक्रमको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले यो सम्मेलनले भरतपुरलाई मेडिकल सिटीका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने र जिल्लाका चिकित्सकहरूमा नयाँ ऊर्जा थप्ने बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा विदेशबाट समेत चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुनेछन् भने देशभरबाट करिब छ सय चिकित्सक र स्वास्थ्य विज्ञहरूको सहभागिता रहनेछ ।