काठमाडौँ, २१ माघ । प्रधानमन्त्री सुुशीला कार्कीले बिमितले तीनहजार पाँचसय रुपैँया तिरिसकेपछि स्वास्थ्य उपचार गर्न पाउनुपर्ने बताउनुभएको छ ।
उहाँले सरकारले ऋण गरेर भएपनि स्वास्थ्य बिमालाई टिकाइराख्नुपर्ने भन्दै अब स्वास्थ्य बिमामा एकद्धारा प्रणाली लागू गर्नुपर्ने बताउनुभयो ।
बुधबार स्वास्थ्य बिमा सम्बन्धि छलफलमा प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा कोष लगायत छरिएर रहेका सामाजिक स्वास्थ्य कार्यक्रमलाई एकद्धार प्रणाली मार्फत स्वास्थ्य बिमामा ल्याउनुपर्ने बताउनुभयो ।
स्वास्थ्य बिमामा भएका कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने उहाँको भनाई छ ।
परिवार चलाउने क्रममा अनिकाल आइलाग्यो भने गरगहना तथा झर्काको थाल समेत बेचेर संकट टार्ने गरेको उल्लेख गर्दै उहाँले राज्यले स्वास्थ्य बिमालाई ऋण खोजेर भएपनि रकम भुक्तानी गरिने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
अहिले बिमा संकटमा छ भने त्यसलाई राज्यले जसरी पनि सञ्चालन गर्नुपर्दछ,प्रधानमन्त्रीले भन्नुभयो,“बिमा गरिसकेपछि बिमितलाई उपचार गर्दिन भन्न पाइन्न ।”
उहाँले स्वास्थ्य बिमालाई निरन्तर अगाडी बढाउनका लागि श्रोतसाधन खोज्नुपर्ने र कानुमा भएका विषयलाई लागू गर्नुपर्ने बताउनुभयो ।
आर्थिक स्थिति कमजोर भएका वर्गलाई स्वास्थ्य बिमा कार्यक्रमले फाइदा पु¥याएको उहाँको भनाई छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.शुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधार आफ्नो प्राथमिकता भएको बताउनुभयो ।
उहाँले सुर्तीकर कोषमा जम्मा भएको रकम स्वास्थ्य बिमा बोर्डले पाउनुपर्ने भन्दै उक्त विषय कानुनमा उल्लेख भएको अवगत गराउनुभयो ।
उहाँले सुर्तीकर कोषको रकम अर्थमन्त्रालयले हालसम्म भुक्तानी नगरेको गुनासो गर्नुभयो ।
स्वास्थ्य बिमा कार्यक्रम सहज ढंगले सञ्चालन गर्नका लागि भुक्तानी नदिए सरकार मातहत रहेका अस्पताल बन्द गर्नुपर्ने अवस्था आउने उहाँको भनाई छ ।
यो वर्ष सरकारले दिएको १० अर्ब रुपैँया गत वर्षको भुक्तानी तिर्दा सकिएको बताउनुभयो ।
मन्त्री शर्माले स्वास्थ्य मन्त्रालयबाट विभिन्न शिर्षकमा कटाएर रकमान्तरका लागि लगेको ७० करोडको फाइल पनि अर्थ मन्त्रालयले कुनै चासो नदेखाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकत्रित गरी स्वास्थ्य बिमामा ल्याउनुपर्ने बताउनुभयो ।