विराटनगर, २५ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा बिहीबार साँझ दुर्घटनामा शिक्षकको मृत्यु भएको छ।
दुर्घटनामा परेर बेलबारी नगरपालिका–४ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–८ बस्ने ५० वर्षीय कमल कोइरालाको मृत्यु भएको हो ।
दुर्घटनालगत्तै प्रहरीले बस र चालक झापाको मेचीनगर नगरपालिका–१० का ४८ वर्षीय सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। बसको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार गम्भीर घाइते हुनुभएका कोइरालालाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।
मृतक कोइराला बेलबारीको कसेनी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्छ ।
प्रहरीका अनुसार उहाँ सवार को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–०११ ख १६०२ नम्बरको बसले बिहीबार साँझ ६:४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो ।