• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टर पुकारचन्द्र श्रेष्ठलाई बेलायतमा सम्मान

    डाक्टर पुकारचन्द्र श्रेष्ठलाई बेलायतमा सम्मान

    शनिबार, कात्तिक २९ २०८२
    शनिबार, कात्तिक २९ २०८२
    डाक्टर पुकारचन्द्र श्रेष्ठलाई बेलायतमा सम्मान

    काठमाडौं, २९ कात्तिक । नेपालका वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठ बेलायतमा सम्मानित हुनुभएको छ । 

    डा.श्रेष्ठलाई मिर्गौला तथा कलेजो प्रत्यारोपण क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि बेलायतस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले विशेष उपाधि ‘एफआरसीएस’ले सम्मानित गरेको हो ।

    samman dr pukar.jpg

    बेलायतमै प्रत्यारोपणसम्बन्धी अध्ययन र अनुभव हाँसिल गरी स्वदेश फर्कनुभएका डा श्रेष्ठले नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना मात्र नभई प्रत्यारोपणलाई विश्वस्तरको बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्दै आएकोले सम्मान गरिएको हो ।

    dr pukar samman.jpg


    सोही योगदानको कदर गर्दै कलेजका अध्यक्ष डा क्लारे म्याक्नटले डा.श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्नुभयो ।

     सो अवसरमा प्रतिष्ठित स्वास्थ्य विज्ञ तथा कलेजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


     बेलायतमा प्रत्यारोपणको अध्ययन तथा अनुभव लिनुभएका डा श्रेष्ठले नेपाल फर्केपछि वीर अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको थियो ।


    उहाँले प्रत्यारोपणलाई संस्थागत विकास गर्दै अघि बढाउन उहाँकै अग्रसरतामा भक्तपुर दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको थियो । उहाँले सो केन्द्रमा लगातार ११ वर्ष नेतृत्व गर्नुभएको थियो । 

    उहाँको नेतृत्वमा देशभर एक हजार ६०० भन्दा बढी मिर्गौला प्रत्यारोपण ९९ प्रतिशतभन्दा बढी सफलताका साथ सम्पन्न भएको छ। यस्तै, नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने ऐतिहासिक काम पनि उहाँले गर्नुभएको छ । 

    उहाँले  निःशुल्क मिर्गौला  प्रत्यारोपण, विभिन्न स्थानमा सेवा विस्तार, प्रत्यारोपण कानून बनाउनका साथै अंगदान र प्रत्यारोपण सम्बन्धी जनचेतना अभिवृद्धिको लागि महत्वपूर्ण भूमिका खेख्नुभएको छ । 


    उहाँले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ मिर्गौला, ४ कलेजो तथा १ संयुक्त (मिर्गौला–कलेजो) प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ । 
    उहाँले हालसम्म  ३५ जनाको कलेजो प्रत्यारोपण गरिसक्नुभएको छ ।  यस्तै अत्यन्त जटिल मानिने तेस्रो पटकको मिर्गौला प्रत्यारोपण तथा ४ वटा धमनी (आर्टरी) रहेको दाताबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । 


    सन २००० मा एडिनबर्गमै प्रत्यारोपण तालिम सुरु गर्नुभएका डा  श्रेष्ठले सोही कलेजको मेम्बरसिप एमआरसीएस उपाधि प्राप्त गर्नुभएको हो । 

    उहाँले त्यसबेला बेलायतको प्रतिष्ठित फ्रिम्यान अस्पताल लगायतका केन्द्रमा समेत कार्य अनुभव हाँसिल गर्नुभएको थियो ।

     

    श्रेष्ठको नेतृत्व रहेका बेला भक्तपुरको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले देशभरका दुई तिहाइभन्दा बढी मिर्गौला तथा कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। प्रत्यारोपण सेवा देशमै स्थापित हुँदा यसका लागि भन्दै हरेक वर्ष विदेशिने झण्डै दुई अर्ब रुपैयाँ बचत हुन थालेको पनि बताइन्छ।

    हाल सरकारी सेवाबाट अवकाशप्राप्त डा श्रेष्ठले गैर–नाफामूलक संस्था स्थापना गरेर प्रत्यारोपण सेवालाई अझ सुदृढ बनाउने तथा सर्वसाधारणको पहुँचमा झन् सहज रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार