• शनिबार, १ कात्तिक २०८३
  • images
    स्वास्थ्य बिमामा बदमासी

    कोशी अस्पतालका दुई फार्मेसी सहायकसहित तीनजना बर्खास्त

    कोशी अस्पतालका दुई फार्मेसी सहायकसहित तीनजना बर्खास्त

    मंगलबार, भदौ ३१ २०८२
    मंगलबार, भदौ ३१ २०८२
    कोशी अस्पतालका दुई फार्मेसी सहायकसहित तीनजना बर्खास्त

    विराटनगर, ३१ भदौ । कोशी अस्पताल विराटनगरमा कार्यरत दुइजना फार्मेसी सहायक र एकजना कार्यालय सहयोगी गरि तीनजना कर्मचारी बर्खास्त भएका छन् ।

    फार्मेसीमार्फत स्वास्थ्य बिमा अन्तर्गत स्वास्थ्य उपचार सेवा लिने सर्वसाधारणमा बिमा कार्ड प्रयोग गरेर औषधि हिनामिना गरी अनियमितता गरेको पाइएपछि उनीहरुलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको हो ।

    images


    स्वास्थ्य बिमाको कार्डको दुरुपयोग गरेर फार्मेसीमा लुट मच्चाएको आरोपमा फार्मेसी सहायक शिशिर साहु (साह), फार्मेसी सहायक निरीक्षक सन्ध्या यादव र कार्यालय सहयोगी सुमित कामतलाई सेवाबाट बर्खास्त गरिएको हो । 

    बर्खास्तीमा परेका तीनैजना कर्मचारीहरु अस्पताल विकास समिति अन्तर्गत सेवा करारमा कार्यरत थिए । 

    अस्पतालले गठन गरेको छानबिन समितिले  उनीहरूको संलग्नता पुष्टि गरेपछि पटक पटक स्पष्टीकरण सोधेर कारवाही गरेको थियो । तर छानविन समितिले उजुरी आएको र भेटिएको सीमित बिलहरुमाथि मात्र अनुसन्धान गरेको थियो । 

    उक्त प्रवृत्तिलाई हेर्दा फार्मेसीमा अझ ठूलो बदमासी हुनसक्ने आशंका गर्दै अस्पताल प्रशासनले विस्तृत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै सहयोग लिने तयारी गरेको छ । 

     

    ती कर्मचारीहरुको मिलेमतोमा औषधिको हिनामिना भएको, विमितको स्वास्थ्य बिमाको रकम दुरुपयोग गरी अनियमितता गरिएको, विमितको जानकारी बिनै औषधि खरिद गरेको नाममा एक लाख रुपियाँसम्म खर्च गरिएको आदि घटनामा संलग्न रहेको पाइएपछि अस्पताल प्रशासनले आइतबारबाट ती कर्मचारीहरुलाई बर्खास्त गरेको थियो ।

     त्यसअघि अस्पताल प्रशासनले घटना छानबिन गर्न आन्तरिक रुपमा छानविन समिति नै गठन गरेको थियो । छानबिन समितिबाट दुरुपयोग भएको, पटक पटक उस्तै कार्य दोहोराएको पाइएपछि सेवाबाट हटाउने निर्णय गरेको थियो । 


    सेवाग्राहीले औषधि खरिद नै नगरी उनको नाममा रहेको बिमा रकम सकिएको जानकारी पाएपछि अस्पताल प्रशासनमा दिएको उजुरीका आधारमा छानबिन अघि बढाइएको थियो । 

    एकजना क्यान्सरका बिरामीले किमो खरिद गर्न जाँदा बिमाको रकम सकिएको जवाफ पाएपछि उजुरी दिएका थिए । 

    सोही उजुरीका आधारमा अध्ययन गर्दा अहिले पाँचवटा त्यस्ता बिल भेटिएको र त्यसमा तीनैजनाको संलग्नता पाइएको थियो । समितिले प्रतिवेदन दिएपछि आइतबार तीनै जनालाई सेवाबाट बर्खास्त गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रूना झाले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘‘एक जना बिमितले दिएको उजुरीको आधारमा हामीले तत्काल छानबिन समिति गठन गरेका थियौं । समितिले पेस गरेको प्रतिवेदनले उनीहरूको संलग्नता स्पष्ट पारेपछि हामीले  कारबाही गर्यौं ।’’ 

    मोरङमै घर भएका उहाँ क्यान्सर उपचारका लागि नियमित रुपमा कोशी अस्पताल आउने गर्नुहुन्थ्यो । त्यसै क्रममा आकस्मिक कक्षमा जाँच गराउन जानुभयो । चिकित्सकले नियमित सेवन गर्ने औषधि एक साताका लागि लेखिदिनुभएको थियो । फार्मेसीबाट उक्त औषधि लिनुभयो । फेरि दोस्रो पटक औषधि लिनजाँदा अघिल्लो पटकको बिमा खाताबाट एक महिनाको औषधिको रकम काटिएको थियो । 

    ‘‘म त छक्क परेँ, लिएको एक हप्ताको औषधि तर पैसा एक महिनाको काटिएको रहेछ,’’ उहाँले भन्नुभयो, ‘‘त्यसपछि मैले अस्पतालको स्वास्थ्य बिमा सहजीकरण डेस्कमा गएर सोधपुछ गर्दा मेरो नाममा एक महिनाको औषधि लगेको रेकर्ड देखियो ।

     

     यो सरासर ठगी हो भन्ने लागेपछि मैले अस्पताल प्रशासनमा लिखित उजुरी दिएँ ।’’

    चिकित्सकले पुर्जीमा नलेखेको महँगो औषधिसमेत बिरामीले लगेको भनेर उनीहरुले सेवाग्राहीको विमा कार्डबाट रकम काटिदिने गरेको समेत पाइएको छ । 

    आकस्मिक कक्षमा एक दिन बसेको बिरामीले मुश्किलले दुई–चार ट्याब्लेट औषधि सेवन गरेको हुन्छ, तर उसको बिमा खाताबाट दुई सय ट्याब्लेट औषधि लगेको भनेर रकम काटिएको जस्तो अनियमितता छानविन समितिले भेटेको छ । यसले एकातिर बिमितको बिमा रकम समय अगाडि नै सकिने र अर्कोतिर राज्यकोषको चरम दुरुपयोग भएको पाइएको हो । 

    कोशी अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बिरामी बहिरंग (ओपिडी) सेवाका लागि आउँछन्, जसमध्ये अधिकांश स्वास्थ्य बिमा गरेका हुन्छन् । यति ठूलो संख्यामा बिमितहरूको चाप हुने ठाउँमा फार्मेसीको सफ्टवेयर प्रणाली, औषधिको स्टक र बिलिङको नियमित र प्रभावकारी अनुगमन नहुँदा कर्मचारीहरूले लुट मच्चाउने अवसर पाएको देखिन्छ ।

    यस विषयमा स्वास्थ्य बिमा बोर्ड, कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले चिकित्सकको सिफारिसबिना औषधि दिनु गैरकानुनी भएको बताउनुभयो । 

    अस्पतालले तीन कर्मचारीलाई बर्खास्त गरेर तत्कालका लागि समस्या समाधान गरेको देखाए पनि यो घटनामा संगठित भएको हुन सक्ने आशंका गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार