• बिहीबार , २९ असोज २०८३
  • images
    images

    स्वास्थ्य सेवा प्रवाहमा नर्सको भूमिका महत्त्वपूर्ण

    स्वास्थ्य सेवा प्रवाहमा नर्सको भूमिका महत्त्वपूर्ण

    आइतबार, साउन १८ २०८२
    आइतबार, साउन १८ २०८२
    स्वास्थ्य सेवा प्रवाहमा नर्सको भूमिका महत्त्वपूर्ण

    काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। 

    महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्स रहेका उल्लेख गर्नुभयो।  

    images

    मन्त्री डा राणाले भन्नुभयो, “ग्रामीण बस्तीदेखि शहरी अस्पतालसम्म नै नर्सको सेवा, समर्पण र विरामीप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ। जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ।” 

    बिरामीको उपचार, उनीहरुको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र बिरामीलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृ–शिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै  स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उहाँले बताउनुभयो। 

    मन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। 

    मन्त्री डा. राणाले भन्नुभयो “नर्सको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ। नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सको यो भूमिका आवश्यक छ।”

     

    उहाँले नेपालमा सेफ मदरहुड नेटवर्कमार्फत मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो। 

    मन्त्री डा. राणाले नर्सिङजस्तो महत्त्वपूर्ण र संवेदनशील विषयका स्नातकलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यावहारिक बनाउन एवं नरम व्यवहार तथा सेवामार्फत बिरामीको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिनुभयो। 

    नेपाली नर्स विदेश गइरहेको वर्तमान अवस्थाप्रति उहाँले भन्नुभयो, “यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन। तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला। यो देशमा यहाँको अत्यन्त खाँचो छ।”

    प्रतिक्रिया दिनुहोस
    थप समाचार