जग्गा अभाव झेल्नुपरेको छः कार्यकारी निर्देशक श्रेष्ठ
भक्तपुर, ११ वैशाख । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १३ वर्षमा प्रवेश गरेको छ ।
मानव अंगको प्रत्यारोपण गर्ने उद्देश्यले १३ वर्ष अघि केन्द्रको स्थापना भएको थियो ।
सुरुमा मानव अंग प्रत्यारोपण केन्द्रको नामबाट स्थापित केन्द्रको नाम २०७४ साल पुस १२ गतेको मन्त्रीपरिषद बैठकले परिवर्तन गर्दै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र राखेको थियो ।
केन्द्रको १३ औँ वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा अब मुटु प्रत्यारोपणको तयारी भइरहेको जानकारी दिनुभयो ।
अव हामी मुटु प्रत्यारोपणको तयारी गर्दैछौँ, मन्त्री पौडेलले भन्नुभयो,“मिर्गौला र कलेजो प्रत्यारोपणमा पूर्ण रुपमा सफल भएका छौँ ।”
मन्त्री पौडेलले सरकारले मिर्गौला प्रत्यारोपणमा चार लाख रुपैँया उपलब्ध गराउँदै आएको जानकारी दिदै उक्त सहुलियत अन्य जटिल रोगमा पनि दिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य बिमामा आबद्ध गराएर भएपनि कलेजो प्रत्यारोपण तथा क्यान्सर जस्ता जटिल रोगमा पाँच लाख अनुदान पु¥याउनुपर्ने बताउनुभयो ।
सरकारले हाल मिर्गौला फेल भएका बिरामीलाई प्रत्यारोपणमा चार लाख र औषधि खर्चबापत एक लाख रुपैँया दिदै आएको छ ।
मन्त्री पौडेलले विदेशबाट पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न आउनु नेपालको लागि ठूलो गौरवको विषय भएको बताउनुभयो । नेपाललाई मेडिकल हब बनाउन सकिन्छ, मन्त्री पौडेलले भन्नुभयो,“बङ्गलादेशबाट पनि नेपालमा प्रत्यारोपण गर्न आउनु नेपालको लागि गौरवको विषय हो ।”
जग्गा अभाव झेल्दै प्रत्यारोपण केन्द्र
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जग्गा अभावमा केन्द्रले समस्या झेलिरहेको जानकारी दिनुभयो । उहाँले केन्द्रमा बिरामीको संख्या बढेपनि भौतिक संरचना नहुँदा काम गर्न नपाएको बताउनुभयो । श्रेष्ठले भौतिक संरचनाको अभावमा बिरामीको उपचारमा समस्या आएको बताउनुभयो । सरकारले जग्गा उपलब्ध गराउन नसक्दा प्रत्यारोपण सेवा साँघुरिदै गएको उहाँको भनाई छ ।
निर्देशक डा. श्रेष्ठले पोखरामा १२ जनाको प्रत्यारोपण भइसकेको भन्दै अब पोखरामा केन्द्रको सहयोग विना प्रत्यारोपणको थालनी भइसकेको बताउनुभयो । उहाँले सुर्खेतमा ६ जनाको प्रत्यारोपण सम्पन्न भइसकेको जानकारी दिदै भेरी अस्पतालमा दुईजनाको मिर्गौला प्रत्यारोपण गरिएको बताउनुभयो । उहाँले श्रमिकको स्वास्थ्यलाइ मध्यनजर गर्दै केन्द्रले विशेष कार्यक्रम ल्याएको बताउनुभयो । जग्गाको लागि भौतारिएको १३ वर्ष भइसकेको भन्दै त्यसयता ३० जना स्वास्थ्य सचिव , १२ जना स्वास्थ्य मन्त्री फेरिसकेको बताउनुभयो । स्वास्थ्यको जनशक्ति पलायन भएको भन्दै नेपालमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सासद सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले ३५ रोपनी १२ आना जग्गा सुडालमा दिने प्रक्रियामा लाग्नुपर्ने बताउनुभयो ।
निःशुल्क उपचार सुरु
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारबाट फर्किएकाको निःशुल्क ओपीडी सेवा सुरु गरिएको छ । केन्द्रको १३औँ स्थापना दिवसका अवसरमा सेवा सुरु गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेललेसेवाको उद्घाटन गर्नुभयो । सेवालाई चरणवद्ध विस्तार गर्दै लगिने छ । केन्द्रकी मिर्गौलारोग विभागकी प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठका अनुसार पहिलो चरणमा ओपीडी सेवा निःशुल्क प्रदान गरिनेछ । साथै परामर्शसमेत दिइनेछ । त्यसपछि सेवालाई चरणवद्ध निःशुल्क गर्दै लगिनेछ । ‘हामीले अहिले चाहिँ ओपीडी सेवा निःशुल्क दिने भनेका छौँ । पछि यसमा जाँचलगायतका कुरा निःशुल्क गर्दै चरणवद्ध रूपमा गर्नेछौँ’, डा. श्रेष्ठले भन्नुभयो, ‘वैदेशिक रोजगारमा गएर फर्कनुभएका श्रमिकको मिर्गौला बिग्रेको हुनसक्छ । यहाँ आएर जाँच गर्दा समयमै पत्ता लागोस् भनेर यो गर्न लागेका हौँ ।’