अदालतद्वारा डा संगीता मिश्राको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं, २० चैत । सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्तिको विरोधमा डा संगीता कौशल मिश्राले हालेको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आजको सुनुवाईपछि आएको आदेशले स्वास्थ्य सचिवमा डा देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय यथावत राख्ने आदेश दिएको छ।
बुधबारको अन्तरिम आदेशका विषयमा भएको बहसपछि न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले डा संगीताको माग अनुसार आदेश जारी नहुने फैसला गरेको हो।
सर्वोच्चको यो आदेशसँगै स्वास्थ्य सचिव नियुक्तिमा सरकारले गरेको निर्णय अनुसार नै काम अगाडि बढ्ने भएको छ। सरकारले फागुन २१ गते स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गरेको थियो।
मुद्धालाई अग्राधिकार भने दिने निर्णय गरेको छ।
डा मिश्राले सचिवमा आफू नियुक्त नभएपछि चैत १ गते सर्वोच्चमा रिट हाल्नुभएको थियो ।
मिश्राको रिटमा ३ गते प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा रहेको सुनुवाई १२ गते हेर्न नभ्याइनेमा परेको थियो। त्यसपछि आइतबारलाई सुनुवाई तोकिएको थियो। १७ गते आइतबार न्याधीशद्वय सपना प्रधान मल्ला र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी परेको थियो। तर उक्त दिन पनि हेर्न नभ्याइनेमा परेपछि आज बुधबारलाई सुनुवाई तोकिएको थियो।