• बिहीबार , ५ कात्तिक २०८३
  • images

    भक्तपुर दुर्घटना: मृतक भनिएकी युवती प्रहरी सम्पर्कमा, शव पहिचान भएन 

    भक्तपुर दुर्घटना: मृतक भनिएकी युवती प्रहरी सम्पर्कमा, शव पहिचान भएन 

    बिहीबार , साउन ३१ २०८१
    बिहीबार , साउन ३१ २०८१
    भक्तपुर  दुर्घटना: मृतक भनिएकी युवती प्रहरी सम्पर्कमा, शव पहिचान भएन 

    काठमाडौं, ३१ साउन । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गएकी युवतीको पहिचान फरक परेपछि प्रहरीले पुनः सनाखतको प्रक्रिया अगाडि बढाएको छ ।

       जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले उक्त महिला स्कुटर चालक नभएको  जानकारी दिए । प्रहरीले  स्कुटर चालकको पहिचान खुलेको भन्दै एक महिलाको नाम र ठेगाना सार्वजनिक गरेको थियो ।
    एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै आउनु भएको थियो, तर पछि उहाँको बैनी सम्पर्कमा आएपछि उक्त शव उहाँको बैनीको नभएको पुष्टि भएको हो ।

    images

     शव क्षत–विक्षत अवस्थामा छ । खुट्टाले मात्र चिन्न सकिने अवस्थामा छ । उहाँ कन्फयुज हुनु भएको हो कि, के हो यसबारे पनि अनुसन्धान सुरु गरेका छौं । उहाँलाई पनि नियन्त्रणमा लिएका छौं ।’ यसअघि दोलखाको मेलुङ गाउँपालिका–४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर आफ्नी २३ वर्षीया बहिनी सुष्मा नेपाली भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो । आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती सम्पर्कमा आएको मेलुङ–४ का वडाध्यक्ष सोमबहादुर बम्जनले बताए । उनले  भने, ‘मृत्यु भएकी भनिएकी बहिनी बिबाह गरेर चितवनमा छिन् । उनी जीवितै रहेको भन्दै परिवार सम्पर्कमा आइसके । उसको दाइले प्रहरी कार्यालयमा गलत सूचना दिएका रहेछन् ।’ दुर्घटनामा परेको स्कुटरको सवारी दर्ता किताब (ब्ल्युबुक) ओखलढुंगाका उत्तम सिलवालको नाममा रहेको पाइएको छ । यस्तै दुर्घटनास्थलमा रमेश न्यौपानेको नाममा ट्राफिकले काटेको चिट पनि भेटिएको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले पनि यसअघि पहिचान भएको भनिएको व्यक्ति नभएको सूचना प्राप्त भएसँगै मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताए । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घटनास्थलमै मृत्यु भएको हो । शव उठाएर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । तीव्र गतिको ट्रकले निकै परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् । दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका थिए । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात केही बेर ठप्प भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार