• शनिबार, १ कात्तिक २०८३
  • images

    काठमाडौँ महानगरभित्रका अधिकांश फार्मेसी आधारभूत मापदण्ड विपरीत सञ्चालित

    काठमाडौँ महानगरभित्रका अधिकांश फार्मेसी आधारभूत मापदण्ड विपरीत सञ्चालित

    शुक्रबार, फागुन १८ २०८०
    शुक्रबार, फागुन १८ २०८०
    काठमाडौँ महानगरभित्रका अधिकांश फार्मेसी आधारभूत मापदण्ड विपरीत सञ्चालित

    काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरभित्र सञ्चालनमा र हेका अधिकांश औषधि पसल मापदण्ड विपरित रहेको पाइएको छ । 
    महानगरको स्वास्थ्य विभागले हालसम्म वडा नं १, २ र ३ का धेरै तथा अन्य वडाका विभिन्न ठाउँमा गएर ११८ वटा औषधि पसलको अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो । अनुगमनका क्रममा कुनै पनि फर्मासिष्ट फार्मेसीमा हुनुपर्ने आधारभूत मापदण्ड समेत पालना नगरेको पाइएको छ । 
    अनुगमनका क्रममा वडा नं १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिजमा राख्नु पर्ने खोपहरु राखेको तर नचलाएको पाइएको थियो । यसरी भेट्टाइएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन टोलीले जफत गरेको जनाएको छ । 
    टोलीले प्राणघातक रोेग रेविजविरुद्ध लगाइने एन्टिरेविज खोपमा गरिएको यो लापर्वाही गम्भीर प्रकृतिको भएको उल्लेख गरेको छ । यस्तै रविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरचलेको तर तापक्रम नमिलेको भेटिएको थियो ।

    त्यहाँ मात्रै होइन यस्ता समस्या अन्य धेरै फार्मेसीमा भेटिएको थियो ।

    images

    ‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’ 
    फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठले आम सर्वसाधारणलाई औषधि पसल खोप नलगाउन आग्रह गरिन ।

    ‘औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन । औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाण पत्र छ । पसलमा अर्कै व्यक्ति बसेको छ । औषधि व्यवस्था विभागमा दर्ता छन्, तर महानगरपालिकामा धेरै दर्ता छैनन् । बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नं. केही उल्लेख छैन । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर छैन । यस्ता औषधि डवल लक हुनु पर्ने, त्यस्तो छैन,’ उनले भनिन् ।

    श्रेष्ठले यस्ता समस्या औषधि पसलमा देखिएका साझा समस्या भएको भन्दै हरेकका छुट्टाछुट्टै समस्या पनि भएको बताईन् ।

    यस्तै टोलीले रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधि राखेको भेटाएको छ । उता सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि विक्री गरेको भेटिएको छ ।

    रोयल गन्तव्य हेल्थ केयर प्रालि घट्टेकुलोको औषधि पसलमा बस्ने व्यक्तिको प्रमाण पत्र थिएन । यसैगरी अनामनगरको रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान भेटिएको थियो भने फ्रिजको सफाइ थिएन ।

    अनुगमनका क्रममा भेटिएका यी केही प्रतिनिधि अवस्था हुन् । यी र यस्ता समस्या सबै जसोमा छन् । यो खराव अवस्था हो । राम्रो औषधि पसल चाहिँ कति भेटिए, प्रश्नको जवाफमा अनुगमन संयोजक श्रेष्ठ भन्छिन्, ‘नाम नै लिनु पर्ने गरीका कुनै भेटिएनन् । एक दुई वटा सामान्य देखिए ।’

    प्रतिक्रिया दिनुहोस
    थप समाचार