हेटौँडा, ११ पुस । हेटौंडामा रहेको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाखभन्दा बढीको अत्याधुनिक उपकरणहरू सहयोग प्राप्त भएको छ ।
उपमहानगरपालिका–६ रामनगरमा सञ्चालनमा रहेको अस्पतालमा रोटरी क्लब अफ हेटौँडाले रोटरी सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाखभन्दा बढीको अत्याधुनिक उपकरणहरू सहयोग गरेको हो ।
रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष स्वागत राज प्याकुरेलले हेटौँडा उपमहानगरपालिका–६ का वडाध्यक्ष विष्णु दाहालमार्फत सामुदायिक अस्पताललाई उपकरणहरू हस्तान्तरण गरे ।
रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्याकुरेलले ७७ लाख ५० हजार रुपियाँ बराबरको पाँच थान उपकरण सहयोग गरेको जानकारी दिए ।
रोटरी क्लबले अस्पताललाई पूर्ण स्वचालित हेमाटोलोजी एनलाइजर, पूर्ण स्वचालित बायोकेमिस्ट्री एनलाइजर, अर्ध स्वचालित इलेक्ट्रोलाइट एनलाइजर, अर्ध स्वचालित युरिन एनलाइजर र एचएलपिसि एनलाइजर मेसिन प्रदान गरेको छ ।
हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ हेटौँडाका निवर्तमान अध्यक्ष सुयसराज पराजुली, पूर्व अध्यक्षहरू ऋषिराम घिमिरे, लेखराज पोखरेल, रामप्रसाद शर्मा, प्रस्तावित अध्यक्ष प्रकाश ढकाल, उपाध्यक्ष प्रमेश प्रधान, रोटरीका संस्थापक सदस्यहरुः माधव अधिकारी, विजयकुमार वैद्य, अस्पतालका सल्लाहकार समितिका संयोजक विष्णुप्रसाद ढुङ्गाना लगायतको सहभागिता थियो ।