३७ हजार २६३ परीक्षार्थी सहभागी
काठमाडौं, २४ फागुन । चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजदेखि शुरु भएको छ ।
आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले दिनुभएको जानकारी अनुसार फागुन २४ गते एमबीबीएस, २५ गते बीडीएस, २६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी, बीपर्फ टेक्नोलोजी, २७ गते बाम्स, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआटी, बीफार्म, बी अप्टोमेट्री, बीपीटी र २८ गते विपिएचको परीक्षा हुनेछ ।
उहाँका अनुसार परीक्षामा ३७ हजार २६३ परीक्षार्थी सहभागी हुँदैछन् ।
पहिलो दिनको एमबीबीएस प्रवेश परीक्षामा १४ हजार १ सय ७२, दोस्रो दिनको बीडीएसमा ५ हजार १४, तेस्रो दिन हुने बीएस्सी नर्सिङ (६,२८५), बीएएसएलपी (४१), बीपर्फ टेक्नोलोजी (११८) गरी जम्मा ६ हजार ४५४, चौथो दिन हुने बाम्स (४५१), बीएनएस (२,६७४), बीएस्सी एमएलटी (२६०), बीएस्सी एमआटी (२६०), बीफार्म (३,५१७), बी अप्टोमेट्री (१०००), बीपीटी (३८६) गरी जम्मा ९ हजार १ सय ७३ र पाँचौ दिन हुने बीपीएचमा २ हजार ४४० परीक्षार्थीले भाग लिँदै छन् ।
स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा तत्काल गरि आगामी जेठ २० गतेबाट कक्षा सञ्चालन गर्ने तयारी रहेको छ।
उहाँले परीक्षार्थीहरूलाई समयमै आफ्नो प्रवेशपत्र प्रिन्ट गरी त्यसमा उल्लेख भएका विवरणहरू पालना गरी निर्धारित मिति र समयमा तोकिएको परीक्षा केन्द्रमा प्रवेश गरी मर्यादित ढङ्गबाट परीक्षामा सहभागी हुन आग्रह गर्नुभयो । परीक्षार्थीका अभिभावकहरूलाई समेत आयोगबाट सम्प्रेषण हुने सूचना बाहेक अन्य प्रचारबाजीको पछि नलागी परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउन आवश्यक सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो।
एकीकृत प्रवेश परीक्षामा १११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।