काठमाडौं, ३ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न बहस हुुनुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताउनुभयो।
नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री गिरीले आफ्नै स्रोत साधनमा पनि डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पु¥याउन नसक्नु दुःखको कुरा भएको बताउनुभयो। ‘जनशक्ति उत्पादन गर्ने संस्थाहरुमा विस्तारै नियोजन गरिँदैछ । यो गम्भीर विषय हो । हाम्रो सीमा क्षेत्रमा पारीपट्टी जाने र भारतका विभिन्न शहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहेका छन् । ठूलो धनराशी खर्च भइरहेको छ । यो सबैले महशुस गरेको कुरा हो’, उहाँले भन्नुभयो ।
उहाँले प्राविधिक जनशक्ति उत्पादनमा ध्यान नदिने तर त्यही शिक्षा लिन युवापुस्ता विदेश जाने, पूँजी पलायन हुने क्रम नरोकिएको बताउनुभयो । ‘हामी सीप नभएका, दक्षता नभएका जनशक्तिलाई विदेशमा श्रम गर्न पठाउने र श्रम बेच्ने काममा पठाइरहेका छौं’, उहाँले भन्नुभयो, ‘हामीले यी विषयमा अब बहस गर्नु जरुरी छ । समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको निचोडमा पुग्नुपर्छ ।’
उहाँले परिषदले सीमित कार्यक्षेत्रमा पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति निर्माण गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ‘परिषदले लिखित परीक्षासम्म जाने प्रक्रियालाई अगाडि बढाएको छ, यो कामले गुणस्तरीयता कायम गर्न थप सहयोग पु¥याउनेमा म विश्वस्त छु’, उहाँले भन्नुभयो ।
उहाँले गुणस्तीय शिक्षा, जनशक्ति उत्पादनका लागि कुन–कुन निकायले के जिम्मेवारी लिनुपर्ने र त्यसमा ऐन बाधक वा साधक के छ भनी खुलस्त बहस हुनुपर्ने औल्याउनुभयो । ‘यदि ऐन बाधक हो भने ऐन बनिसक्यो भनेर शीर निहुराएर यसको विरोध गर्नुहुँदैन, विपक्षमा बोल्नु हुँदैन भन्ने हुँदैन । परिवर्तित परिस्थितमा ऐनले सम्बोधन गर्न नसकेका थुप्रै वस्तु हुनसक्छ । त्यसमा सशोधन आवश्यक छ भने बोल्न र बहस गर्नुपर्छ । तर म ऐन मान्दिन भन्न पाइँदैन । भएको ऐन मान्नुपर्छ । त्यसमा त्रुटी छ भने संशोधन गरेर समयानुकुल ऐनलाई संशोधन गरेर अगाडि पनि जानुपर्छ’, मन्त्री गिरीले भन्नुभयो ।
उहाँले आफूले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमा चम्कन लायक काम गर्न आएकाले त्यसमा स्वास्थ्य क्षेत्रको सहयोग र सहकार्यबाट त्यो सम्भव हुने बताउनुभयो । ‘नेपालको स्वास्थ्य क्षेत्रमा हामीले एउटा युगान्तकारी परिवर्तन ल्याउनुपर्छ र ल्याउनेछौं । होइन भने आम जनतामा अहिलेको प्रणाली र व्यवस्थाप्रति ठूलो वितृष्णा आउनेवाला छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा परिषदका पूर्व अध्यक्षहरू भरत झा, प्राडा. शिवकुमार राई, हरिकुमार लम्साल, डा. श्रवणकुमार मिश्र, दिपेन्द्रकुमार झा र रामप्रसाद भण्डारी तथा पूर्व रजिस्ट्रारहरू श्याम भाइ गौतम, राम सागर चौधरी, धनप्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाति र काशिनाथ रिमाललाई मन्त्री गिरीले कदर पत्र र दोसल्लासहित सम्मान गरिएको थियोे ।