काठमाडौँ, १२ पुस । आगामी माघ महिनामा सम्पन्न हुने नेपाल चिकित्सक संघको निर्वाचनमा पेशागत समावेशी समूहले ७ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।
डा. सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले सात बुँदे अवधारणापत्र सार्वजनिक गर्दै विगतका नेपाल चिकित्सक संघ एउटा क्लबको रुपमा मात्रै स्थापित हुन सकेको आरोप लगाएको छ ।
पेशागत समूहले पत्रकार सम्मेलनको आयोजना गर्दै सुरक्षित पेशा खुशी चिकित्सक नारा अघि सारेर अवधारणापत्र सार्वजनिक गरेको हो ।
उक्त अवधारणापत्रमा ‘चकित्सक एक र भूमिका अनेक हुने भन्दै विशिष्टिकृत चिकित्सा सेवाका लागि छुट्टै चिकित्सक सेवा ऐन चाहिने उल्लेख छ । समावेशी समुहले पढाईमा सधै अब्बल कमाईमा कहिले हुने सवल भन्ने अर्को एजेन्डा पनि अघि सारेको छ ।
यस्तै सबै डाक्टर एक पटक सरकारी डाक्टर भन्ने थिममा सबै डाक्टरलाई रोजगारी र १० वर्षमा घरगाडीको अर्को एजेन्डा अघि सारेको छ । यसैगरी बैज्ञानिक डिउटी आवर, अनिवार्य फोर्स लिभ, एक चिकित्सक एक स्वास्थ्य संस्था, चिकित्सा शिक्षा सुधार र रोजगारीको अवसर र संघीयताम कार्यान्वयनको आधार एनएमएमा संगठनात्मक सुधार लगायतका एजेन्डा छन् ।
उक्त अवधारणापत्र सार्वजिनक कार्यक्रममा प्राडा.जागेश्वर गौतमले प्रगतिशित समूहलाई विजयी बनाउन आग्रह गर्नुभयो । उहाँले चिकित्सकको हकहितको लागि डा.सन्तोष पौडेल नेतृत्वको प्यानलले जित्नुपर्ने भन्दै हालको नेतृत्वको अस्तित्व नरहेको बताउनुभयो ।
नेपाल चिकित्सक संघको अध्यक्ष पदका प्रत्यासी डा पौडेलले नेपाल चिकित्सक संघमा आफ्नो दाबी संघको अध्यक्ष मात्र बन्न नभई समग्र स्वास्थ्य क्षेत्रको परिवर्तनका लागि भएको बताउनुभयो । उहाँले हालको संघको नेतृत्वले काम गर्न डा.गोविन्द केसी सुत्नैपर्ने आरोप लगाउनुभयो ।
यसपटक आफ्नो समूहलाई विजयी गराउन अनुरोध गर्दै उहाँले ७२ वर्षको ईतिहास बोकेको संस्था चिकित्सक संघले चिकित्सक र समग्र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा डा.कालुसिंह खत्रीले डा.पौडेलको टिमले चिकित्सा क्षेत्रमा अग्रगामी काम गरेर देखाउने भन्दै उक्त समूहलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
पेशागत समावेशी समूहबाट अध्यक्षमा डा पौडेल हुनुहुन्छ । यस्तै उपाध्यक्षहरुमा मधेश प्रदेशबाट डा महेश महासेठ, बागमतीबाट डा सञ्जय ठाकुर, गण्डकीबाट डा विकास गौचन र सुदूरपश्चिमबट डा निरज अर्याल हुनुहुन्छ । सो समूहबाट महासचिव पदमा डा रक्षा श्रेष्ठको उम्मेद्धारी परेको छ । सदस्यहरुमा डा अभियान गौतम, डा रामकृष्ण आचार्य, डा पदम नेपाली, डा रमेश श्रेष्ठ, डा स्मृति महत र डा सुरेन्द्र यादव हुनुहुन्छ ।