बाजुरा । बाजुरामा भाइरल ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका विभिन्न गाउँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।
स्वास्थ्य कार्यालय बाजुराका अनुसार पछिल्लो समयमा मौसम परिवर्तनसँग बाजुराका विभिन्न ठाउँमा भाइरल ज्वरोका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ ।
जल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिका–२ का वडा अध्यक्ष धनवीर सार्कीले गाउँमा २० परिवारका करिब १५० जनामा भाइरल ज्वरो देखिएका बताउनुभयो ।
‘भदौको पहिलो सातादेखि सुरु भएको भाइरल ज्वरोका कारण जगनाथ गाउँपालिका–२ का मुक्तीकोट र कोटका १५० जना एक महिनादेखि बिरामी हुनुहुन्छ ।’’
अध्यक्ष सार्कीका अनुसार बिरामीहरूमा हात खुट्टा दुख्ने, ज्वरो आउने खानमन नलाग्ने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ ।
यसैगरी, सोही गाउँपालिका कोटकी बुँङ्गची विकले भदौ १ गतेदेखि आफूलाई ज्वरो आएको र हालसम्म निको नभएको बताउनुभयो । जिल्लाका बूढीगङ्गा, त्रिवेणी, गौमुल, खप्तड छेडदहलगायतका स्थानमा भाइरल ज्वरोका बिरामीहरू भेटिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी नृपराज गिरीले गत वर्ष पनि बाजुरामा झण्डै पाँच सयभन्दा बढी भाइरल ज्वरोबाट प्रभावित भएका रहेको बताउनुभयो ।
सूचना अधिकारी गिरीले यस वर्ष पनि मौसम परिवर्तनसँगै फेरि जिल्लाका अधिकांश ठाउँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएको बताउनुभयो । उहाँले बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार भइरहेको जानकारी दिनुभयो ।