विराटनगर । धनकुटाको चौविसे गाउँपापलिका २ को वडा सदस्य पदमा विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको निधन भएको छ। मधुमेह र उच्चरक्तचापका बिरामी मगरको मष्तिष्कघातका कारण शनिबार राति निधन भएको हो। अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका मगरले यसपटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए। तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भयो। ‘बुबालाई जित्दैछु भन्ने त थाहाँ थियो, ‘उनका छोरा मदनले भने, ‘तर, जितेको खबर सुन्न चाहिँ पाउनुभएन ।’ शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयु खाली नरहेको बताएपछि विराटनगरकोमा नोबेल अस्पताल पु¥याएसँगै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ‘गणनास्थलमा बसिरहेका बेला पसिना आउने, काम्ने, वान्ता आउने भयो,’ मदनले भने ‘त्यत्तिकैमा उहाँ बेहोस हुनुभयो। त्यसपछि होस आएन ।’ मगरका दुई छोरा र पत्नी छन् ।