काठमाडौ । प्रविणता प्रमाणपत्र तह नर्सिङको भर्ना तीनदिन भित्र खुल्ने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले पिसिएल नर्सिङ अध्ययनको भर्ना प्रक्रिया तीनदिन भित्र गर्ने निर्णय गरेको हो ।
शिक्षामन्त्री देवेन्द्र पौडेलसहित सिटिइभिटीका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षा मन्त्रालयका कर्मचारीहरुसहितको बैठकले तीनदिन भित्र भर्नाका लागि सूचना निकाल्ने निर्णय गरेको हो ।
चिकित्सा शिक्षा आयोगको ऐनमा भएको व्यवस्था अनुसार आफ्नै अस्पताल भएका नर्सिङ कलेजहरुले मात्र भर्ना लिन पाउनेछन् ।
आफ्नो अस्पताल भएका कलेजहरुको बेड संख्या एकसय हुनुपर्नेछ ।
आयोगको मापदण्ड पुरा गरेका नर्सिङ कलेज २४ वटा रहेका छन् ।
बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलिया, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी लगायतका पदाधिकारीहरु थिए ।