काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेको भन्दै पछिल्लो समय एक करोड २३ लाख जनताले कोरोना विरुद्धको खोप लगाइसकेको बताउनुभएको छ ।
नेपाल चिकित्सक संघको आयोजनामा भएको पहिलो ‘स्वास्थ्य शिखर सम्मेलन’को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । उहाँले विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नुपर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सक्नुपर्ने बताउनुभयो । कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखी सम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गरिने बताउनुभयो ।
उहाँले कोरोना विरुद्धको महामारीमा वा महाभूकम्पको समयमा नेपालको एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीको सामनालाई सधै परास्त गर्दै आइरहेको जानकारी दिनुभयो । कोरोना विरूद्धको खोपको विकास पश्चात कोरोना विरुद्धको लडाइमा सफल हुदै गएकोले खोपको सरल र सहज पहुँचमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति,खोप लगायतका विषय सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
महामारीले अहिले सम्पूर्ण जनजीवन प्रभावित पारेको भन्दै प्रधानमन्त्री देउवाले कोरोना विरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
नेपाल चिकित्सक संघले महामारी तथा प्राकृतिक विपत्तिलाई प्राथमिकतामा राखी महामारीमा पूर्व तयारी नामक सन्देशको तर्जुमा गरेर पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलनको आयोजना गरेको हो ।
चिकित्सक संघले महामारीलाई ध्यानमा राखेर आयोजना गरेको स्वास्थ्य सम्मेलनको प्रशंशा गर्दै पं्रधानमन्त्री देउवाले नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणालीभित्र रही नेपाली जनतालाई कोरोना महामारीबाट जोगाउन लागिपरहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाल सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, आवश्यक सामाग्रीहरुको आपूर्ति र वितरणलाई प्रभावकारी रुपले अगाडी बढाएको बताउनुभयो । कोरोना भाइरस संक्रमित व्यक्तिहरुको उपचार र व्यवस्थापन लगायतका विषयमा पनि सरकारले सरोकारवाला निकायहरुको समन्वयमा आईसोलेसन, क्वारेन्टिन, परीक्षण, सम्पर्क व्यक्तिको खोजीकार्यलाई निरन्तरता दिइरहेको बताउनुभयो । उहाँले खोप कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखी सम्पूर्ण नेपाली नागरिकहरुलाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारले ४६ लाख जनतालाई खोप लगाएको उल्लेख गर्दै नयाँ सरकारले एक करोडभन्दा बढीलाई कोरोना विरुद्ध खोप लगाएको बताउनुभयो । उहाँले हालसम्म १८ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको बताउनुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोभिड–१९ को महामारीलाई मात्र नभई अन्य प्राकृतिक विपत्तिहरुको सामना गर्नका लागि सम्मेलनको आयोजना गरिएको जानकारी गराउनुभयो । उहाँले राज्यको तर्फबाट संचालन भएका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन सम्मेलनले सहयोग गर्ने बताउनुभयो ।
विश्व कोभिड–१९ को महामारीसँग जुँधिरहेको र यसका लागि विश्वमै विभिन्न खोज तथा अनुसन्धानमूलक गतिविधिहरु निरन्तर संचालन भईरहेको भन्दै नेपालले महामारीको सामना गरिरहँदाको अनुभव एकै ठाउँमा राख्न सम्मेलन कोशेढुंगा सावित हुने बताउनुभयो । आयोजक समितिका अध्यक्ष डा. केदारनरसिंह केसीले कोरोना महामारीले नेपालको अर्थतन्त्र र जनजीवनमा गम्भीर असर परेको बताउनुभयो ।
पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य अरु क्षेत्र भन्दा फरक भएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा महामारी फैलिरहदा प्रदेशको सरकारको भूमीका नभएको उहाको आरोप छ । कार्यक्रममा विभिन्न क्षेत्रका चिकित्सकहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
डा. कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको बाजी लगाउँदै नेपाली नागरिकहरुको जीवन रक्षाका निम्ती स्वदेशमा उपलब्ध सिमित, स्रोत, साधनको अधिकतम सदुपयोग गरेको बताउनुभयो ।
उहाँले संघले प्राथमिकता राखेका विषयवस्तुमा विज्ञहरुको संलग्नतामा यस शिखर सम्मेलनको आयोजना गरेर नेपाल सरकारलाई बैज्ञानिक नीतिगत सुझाब प्रस्तुत गर्ने योजना बनाएको बताउनुभयो ।