काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि भारत सरकारले उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ। आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो ।
भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्री श्रेष्ठले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताए। १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको पनि उनले जानकारी दिनुभयो ।
अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले कोभिड–१९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताउनुभयो ।