• शनिबार, १४ कात्तिक २०८३
  • images

    शल्यक्रिया तालिमका लागि चार स्वास्थ्य संस्थालाई उपकरण सहयोग

    शल्यक्रिया तालिमका लागि चार स्वास्थ्य संस्थालाई उपकरण सहयोग

    बुधबार, कात्तिक ११ २०८३
    बुधबार, कात्तिक ११ २०८३
    शल्यक्रिया तालिमका लागि चार स्वास्थ्य संस्थालाई उपकरण सहयोग

    काठमाडौं, ११  कात्तिक । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए यूके) ले नेपालका चार स्वास्थ्य संस्थालाई शल्यक्रियासम्बन्धी व्यावहारिक तालिममा प्रयोग हुने उपकरण सहयोग गरेको छ ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटललाई उपलब्ध गराइएका उपकरणले चिकित्सकको शल्यक्रियासम्बन्धी सीप र दक्षता अभिवृद्धिमा सहयोग पुग्नेछ ।

    images

    मंगलबार वीर अस्पतालमा आयोजित कार्यक्रममा सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिलाई उपकरण हस्तान्तरण गरिएको हो । आधुनिक शल्यक्रिया प्रविधिमा चिकित्सकको व्यावहारिक दक्षता बढाउने, चिकित्सा शिक्षालाई प्रभावकारी बनाउने र बिरामीलाई सुरक्षित तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले उपकरण सहयोग गरिएको आयोजकले जनाएको छ ।

    उपलब्ध गराइएका उपकरणमध्ये इन्डोट्रेनर ल्याप्रोस्कोपिक शल्यक्रियाको अभ्यासका लागि प्रयोग गरिन्छ । यसबाट चिकित्सकले वास्तविक बिरामीमा शल्यक्रिया गर्नुअघि नियन्त्रित वातावरणमा अभ्यास गर्न सक्छन् । उपकरण सञ्चालन, हातको समन्वय र प्राविधिक सीप विकासमा यसले सहयोग पुर्‍याउने  छ ।

    कार्यक्रममा न्याम्सका उपकुलपति प्रा. डा. विवेक आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेयाङ्बोसहित उपकरण प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

    एनडीए यूकेका उपाध्यक्ष डा. आशिषकिरण श्रेष्ठले सिमुलेसनमा आधारित अभ्यासका लागि उपकरण उपलब्ध गराइएको बताउनुभयो । उहाँले रोटरी क्लब अफ काष्ठमण्डपसँगको सहकार्यमा यसपटक चार स्वास्थ्य संस्थालाई उपकरण प्रदान गरिएको जानकारी दिनुभयो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. मेयाङ्बोले प्राप्त उपकरणको प्रभावकारी उपयोग गरी शल्यक्रिया तालिमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई पनि गुणस्तरीय तालिमको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले कर्णालीका लागि समेत उपकरण उपलब्ध गराएकोमा एनडीए यूकेप्रति आभार व्यक्त गर्नुभयो ।

    एनडीए यूकेका पूर्वअध्यक्ष प्रा. डा. फौदराज थेवेले चिकित्सकको सीप अभिवृद्धिमार्फत बिरामीले सुरक्षित, प्रभावकारी र गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

    रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यले विदेशमा रहेर पनि नेपाली चिकित्सकले मातृभूमिको स्वास्थ्य सेवा सुधारमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले एनडीए यूकेसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले संस्थाको योगदान उपकरण हस्तान्तरणमा मात्र सीमित नभई स्वास्थ्य शिविर, तालिम, चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता विकास र सामाजिक कल्याणका कार्यक्रमसम्म विस्तार भएको जानकारी दिनुभयो ।

    रोटरी क्लब अफ काष्ठमण्डप र एनडीए यूकेबीच एक दशकभन्दा लामो समयदेखि सहकार्य हुँदै आएको अध्यक्ष वैद्यले बताउनुभयो । विदेशमा कार्यरत नेपाली चिकित्सकले आफ्नो मातृभूमिको स्वास्थ्य सेवाप्रति देखाउनुभएको चासो, सद्भाव र सहयोग प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रमका विशेष अतिथि रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्कीले एनडीए यूकेले रोटरी क्लब अफ काष्ठमण्डपसँग सहकार्य गरी सामाजिक सेवामा योगदान पुर्‍याएकोमा प्रशंसा गर्नुभयो । उहाँले डिस्ट्रिक्टअन्तर्गतका १६६ क्लबमध्ये रोटरी क्लब अफ काष्ठमण्डपले प्रभावकारी गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा एनडीए यूकेका महासचिव डा. पारुल श्रेष्ठ, डा. प्रदीप बस्न्यातलगायत पदाधिकारी तथा सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार