• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    मेडिकल काउन्सिललाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल

    मेडिकल काउन्सिललाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल

    बुधबार, असोज ७ २०८३
    बुधबार, असोज ७ २०८३
    मेडिकल काउन्सिललाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल

    काठमाडौँ ,७ असोज । नेपाल मेडिकल काउन्सिलको भूमिका थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ।

    प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालको अध्यक्षतामा बुधबार भएको छलफलमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीको सहभागिता रहेको थियो।

    छलफलमा काउन्सिलको वर्तमान भूमिका, चिकित्सक दर्ता तथा अनुमतिपत्र परीक्षा, चिकित्सकको गुणस्तर, परीक्षा प्रणालीमा सुधार, संस्थागत क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगलगायत विषयमा विस्तृत छलफल भएको थियो।

    स्वास्थ्य सल्लाहकार डा. अग्रवालले नेपाल मेडिकल काउन्सिल चिकित्सकको परीक्षा लिने र अनुमतिपत्र प्रदान गर्ने निकायमा मात्र सीमित नरहेको बताउनुभयो। उहाँले काउन्सिलले योग्य, दक्ष र जिम्मेवार चिकित्सक स्वास्थ्य क्षेत्रमा प्रवेश गराउने भएकाले मुलुकको स्वास्थ्य प्रणालीमा यसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

    छलफलमा काउन्सिलका पदाधिकारीले चिकित्सकको ज्ञान परीक्षणसँगै व्यावहारिक सीप र दक्षताको समेत मूल्याङ्कन हुने गरी परीक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। हालको परीक्षा प्रणालीलाई थप वैज्ञानिक र व्यावहारिक बनाउँदै ज्ञानमा आधारित परीक्षासँगै सीपमा आधारित परीक्षणसमेत सञ्चालन गर्नुपर्ने धारणा उहाँहरूले राख्नुभयो।

    काउन्सिलका पदाधिकारीले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा उत्तीर्ण हुने दर कम हुनुका कारणबारे समेत छलफल गर्नुभएको थियो। चिकित्सक शिक्षा अध्ययनका लागि विद्यार्थी छनोटदेखि शिक्षण संस्थाको शैक्षिक गुणस्तर, प्रशिक्षणको प्रभावकारिता र विद्यार्थीको व्यावहारिक दक्षतासम्मका पक्षमा सुधार आवश्यक रहेको उहाँहरूको भनाइ थियो।

    त्यसैगरी चिकित्सक दर्ता परीक्षालाई सहज र व्यवस्थित बनाउन परीक्षा प्रणालीको विकेन्द्रीकरण, आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन तथा सूचना प्रविधिको सुदृढीकरण गर्नुपर्ने विषयमा पनि काउन्सिलका तर्फबाट जानकारी गराइएको थियो।

    काउन्सिलका पदाधिकारीले बढ्दो जिम्मेवारीअनुसार संस्थागत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग तथा आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। काउन्सिलको सेवा प्रवाहलाई थप प्रभावकारी र समयानुकूल बनाउन सरकारको सहयोग आवश्यक रहेको उहाँहरूको भनाइ थियो।

    छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहभागीहरूले पनि काउन्सिलको कार्यसम्पादन, चिकित्सकको गुणस्तर र स्वास्थ्य सेवाको नियमनसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो।

    जवाफमा स्वास्थ्य सल्लाहकार डा. अग्रवालले स्वास्थ्य सेवासँग सम्बन्धित जनगुनासा तथा उजुरीलाई छिटोछरितो रूपमा सम्बोधन गर्न काउन्सिललाई आग्रह गर्नुभयो। उहाँले चिकित्सकको व्यावसायिक मर्यादा कायम राख्दै जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माणमा काउन्सिलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

    काउन्सिलको प्रभावकारिता बढाउन आवश्यक स्रोतसाधन, प्रविधि तथा पूर्वाधारको व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै डा. अग्रवालले काउन्सिलका जायज आवश्यकता सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार