भक्तपुर,१९ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा ३९औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। केन्द्रमा गत ८ भदौमा कलेजो प्रत्यारोपण गरिएका सर्लाहीका ३७ वर्षीय बाल गोविन्द यादव स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रत्यारोपणको १०औँ दिनमा डिस्चार्ज हुनुभएको छ।
यादवलाई उहाँकी ३३ वर्षीया श्रीमती मिना कुमारी यादवले आफ्नो आधा कलेजो दान गर्नुभएको हो। कलेजो दाता मिना कुमारीलाई भने प्रत्यारोपणको आठौँ दिनमै स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको केन्द्रले जनाएको छ।
कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहको नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा केन्द्रका विभिन्न विभागका विशेषज्ञ चिकित्सक, नर्सिङ कर्मचारी तथा स्वास्थ्यकर्मीको समन्वयात्मक सहभागिता रहेको थियो।
प्रत्यारोपण टोलीमा डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा. अमित यादवलगायत सहभागी हुनुहुन्थ्यो। एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ विभागीय प्रमुख डा. आरती राईसहितको टोली, रेडियोलोजीतर्फ विभागीय प्रमुख डा. कृष्ण बुढाथोकीसहितको टोली तथा कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टरोलोजी र पल्मोनोलोजी विभागका विशेषज्ञ चिकित्सकले उपचार प्रक्रियामा सहयोग गर्नुभएको थियो।

त्यस्तै, निमित्त नर्सिङ निर्देशक सनिषा कार्कीको नेतृत्वमा नर्सिङ टोली, ओटी व्यवस्थापन टोली, फार्मेसी, डाइटिसियन तथा फिजियोथेरापी सेवाका कर्मचारीको समेत प्रत्यारोपण प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको केन्द्रले जनाएको छ।
कलेजो प्रत्यारोपणको व्यवस्थापकीय जिम्मेवारी प्रशासन प्रमुख रामप्रसाद आचार्यको टोलीले सम्हालेको थियो भने प्रत्यारोपण समन्वयको जिम्मेवारी डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु, चाहाना बोगटी र पूजा खड्कालगायतले निर्वाह गर्नुभएको थियो।
केन्द्रका अनुसार १४ वर्षको अवधिमा हालसम्म १ हजार ६८० जनाको मिर्गौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ। केन्द्रमा नियमित रूपमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन हुन थालेपछि जटिल उपचारका लागि विदेश जानुपर्ने नेपालीको बाध्यता क्रमशः कम हुँदै गएको छ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले नेपालमै कलेजो प्रत्यारोपण सेवा विस्तार हुनु स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “केन्द्रमा नियमित रूपमा कलेजो प्रत्यारोपण हुन थालेपछि प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता धेरै हदसम्म हट्दै गएको छ। स्वदेशमै विशेषज्ञ जनशक्ति, प्रविधि र पूर्वाधारको उपयोग गरेर कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराउन सक्नु आफैँमा महत्वपूर्ण उपलब्धि हो।”
डा. श्रेष्ठका अनुसार नेपालमा हुने कलेजो प्रत्यारोपणमध्ये शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सबैभन्दा ठूलो हिस्सा, करिब दुई तिहाइ, प्रत्यारोपण गर्दै आएको छ।
उहाँले स्वदेशमै प्रत्यारोपण सेवा विस्तारसँगै बिरामीले उपचारका लागि विदेश जानुपर्ने अवस्था न्यूनीकरण हुनुका साथै उपचारमा लाग्ने समय, खर्च र परिवारमाथिको आर्थिक तथा मानसिक भारसमेत कम गर्न सहयोग पुगेको बताउनुभयो।
“कलेजो प्रत्यारोपणजस्तो जटिल र विशेषज्ञतापूर्ण उपचार नेपालमै नियमित रूपमा गर्न सकिने अवस्था निर्माण हुनु गौरवको विषय हो। आगामी दिनमा पनि सेवा थप प्रभावकारी र विस्तार गर्दै बढीभन्दा बढी नेपालीलाई स्वदेशमै गुणस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउने हाम्रो प्राथमिकता हो,” डा. श्रेष्ठले भन्नुभयो।
केन्द्रले कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवाको विस्तारसँगै आवश्यक जनशक्ति, पूर्वाधार र प्रविधिको विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ। पछिल्लो कलेजो प्रत्यारोपणको सफलताले नेपालमा जटिल अंग प्रत्यारोपण सेवा क्रमशः आत्मनिर्भरतातर्फ अघि बढिरहेको सन्देश दिएको केन्द्रको भनाइ छ।