• मंगलबार, ३ कात्तिक २०८३
  • images

    जलवायु संकटले जनस्वास्थ्यमा चुनौती

    जलवायु संकटले जनस्वास्थ्यमा चुनौती

    शुक्रबार, असार १९ २०८३
    शुक्रबार, असार १९ २०८३
    जलवायु संकटले जनस्वास्थ्यमा चुनौती

    काठमाडौं, १९ असार। जलवायु परिवर्तनको असर हिमालमा हिउँ पग्लिने र तापक्रम बढ्ने विषयमा मात्र सीमित नरही गर्भवती महिला, सुत्केरी, बालबालिका तथा सीमान्तकृत समुदायको स्वास्थ्य, शिक्षा, पोषण र जीविकोपार्जनमा गम्भीर प्रभाव पार्न थालेको विज्ञहरूले बताएका छन्।

    जलवायु परिवर्तनले बालबालिकामाथि पारेको प्रभावबारे ट्रिपल मिडिया प्रालि.ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी विज्ञहरूले जलवायु परिवर्तनलाई केवल वातावरणीय समस्या नभई जनस्वास्थ्य र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको बहुआयामिक चुनौतीका रूपमा लिनुपर्नेमा जोड दिएका हुन्।

    images

    जलवायु विज्ञ खुस्बु पौडेलले जलवायु परिवर्तनका कारण महिला, गर्भवती, सुत्केरी तथा बालबालिकाले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारसमेत प्रभावित हुँदै गएको बताउनुभयो। उहाँले आइपास नेपालले सन् २०२२ मा गरेको अध्ययन उद्धृत गर्दै जलवायु परिवर्तनका कारण नियमित खोप छुट्ने, परिवार नियोजनका साधनको अभाव हुने, अनिच्छित गर्भधारण बढ्ने तथा पानीको अभावका कारण किशोरीहरूको विद्यालय उपस्थितिमा समेत असर परेको उल्लेख गर्नुभयो।

    उहाँका अनुसार टाढाबाट पानी ल्याउनुपर्ने बाध्यताले बालबालिकाको अध्ययन प्रभावित हुनुका साथै जलवायु परिवर्तनको असर शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ र बालअधिकारसम्म फैलिएको छ।

    जलवायु विज्ञ मञ्जित ढकालले पछिल्ला १५० वर्षमा मानव गतिविधिका कारण पृथ्वीको औसत तापक्रम करिब १ डिग्री सेल्सियसले बढेको र हाल यो वृद्धि करिब १.२ डिग्री सेल्सियस पुगिसकेको जानकारी दिनुभयो। विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियस पुगेमा हिमाली क्षेत्रमा रहेको करिब एकतिहाइ हिउँ पग्लिने जोखिम रहेको उहाँले बताउनुभयो।

    उहाँका अनुसार तापक्रम वृद्धिसँगै नेपालको करिब २५ प्रतिशत हिमनदी क्षेत्र साँघुरिएको छ भने बालबालिकालाई जलवायु परिवर्तनका असरबाट सुरक्षित राख्न तत्काल प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक भइसकेको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाकी नर्सिङ अधिकृत उमा रेग्मीले वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी रोग मात्र नभई मुटु तथा रक्तनलीका रोग, फोक्सोको क्यान्सर, स्ट्रोक, गर्भावस्थाका जटिलता तथा बालबालिकाको शारीरिक र मानसिक विकासमा समेत नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो।

    उहाँका अनुसार वायु प्रदूषणका कारण दम, दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सीओपीडी), निमोनिया, उच्च रक्तचाप, हृदयाघात र स्ट्रोकको जोखिम बढ्दै गएको छ। गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू यसबाट सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्दछन्।

    रेग्मीले वायु प्रदूषणलाई वातावरणीय समस्या मात्र नभई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा लिएर यसको नियन्त्रणका लागि संघ, प्रदेश, स्थानीय तह र समुदायबीच समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार प्रदूषणका कारण समयअघि शिशु जन्मिने, कम तौलका शिशु जन्मिने तथा बालबालिकाको मस्तिष्क विकासमा समेत प्रतिकूल असर पर्ने अध्ययनहरूले देखाएका छन्।

    राष्ट्रिय मानव अधिकार आयोगका दीपेन्द्रबहादुर सिंहले जलवायु परिवर्तनको सबैभन्दा बढी असर आफ्नो अधिकारको संरक्षण आफैँ गर्न नसक्ने समुदायमा परेको बताउनुभयो। उहाँका अनुसार बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा राउटे र चेपाङजस्ता सीमान्तकृत समुदाय जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले जलवायु परिवर्तनसँगै तापलहरको तीव्रता, अवधि र दोहोरिने क्रम विश्वभर बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार लगातार पाँच वा सोभन्दा बढी दिनसम्म कुनै स्थानको अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियस वा सोभन्दा बढी भए त्यसलाई तापलहर मानिन्छ।

    उहाँले जलवायु परिवर्तनका कारण मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर देखिन थालेको उल्लेख गर्दै अत्यधिक गर्मीका कारण समयअघि सुत्केरी हुने, मृत शिशु जन्मिने तथा नवजात शिशुको स्वास्थ्य जोखिम बढ्ने विभिन्न अध्ययनले पुष्टि गरेको जानकारी दिनुभयो। दैनिक अधिकतम तापक्रम प्रत्येक १ डिग्री सेल्सियसले बढ्दा समयअघि सुत्केरी हुने जोखिम ४.२ प्रतिशत र मृत शिशु जन्मिने जोखिम ३.३ प्रतिशतले बढ्ने अध्ययनको निष्कर्ष रहेको उहाँले बताउनुभयो।

    डा. धिमालका अनुसार अत्यधिक गर्मीले बालबालिकाको निद्राको गुणस्तरमा कमी ल्याउने, किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढाउने तथा श्रम उत्पादकत्व र जनजीविकामा समेत प्रतिकूल असर पार्ने गरेको छ। सन् २०२३ मा नेपालका नागरिक दैनिक औसत ४.३ घण्टा मध्यम वा उच्च तापीय तनावको जोखिममा रहेको तथा अत्यधिक गर्मीका कारण नेपालले वार्षिक करिब २.८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको उहाँले जानकारी दिनुभयो।

    कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव डा. प्रकाश सिंह थापाले बालबालिका भविष्यका आधार भएकाले उनीहरूलाई जलवायु परिवर्तनका प्रभावबाट जोगाउन अहिले नै प्रभावकारी तयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विद्यालय तहदेखि नै जलवायु परिवर्तन, स्वास्थ्य जोखिम र अनुकूलनका उपायबारे शिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गर्न सरकार, विद्यालय र समुदायले प्राथमिकता दिनुपर्ने बताउनुभयो।

    कार्यक्रममा सहभागी विज्ञहरूले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणसँगै स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने, वायु प्रदूषण नियन्त्रण गर्ने तथा बालबालिका, गर्भवती, सुत्केरी र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार